कांग्रेस कार्यालय पुनर्निर्माणमा कोषाध्यक्ष श्रेष्ठको एक करोड सहयोग, ६५ लाख सापटी

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालय पुनर्निर्माणमा कोषाध्यक्ष उमेश श्रेष्ठले व्यक्तिगत रूपमा एक करोड दुई लाख ५१ हजार ७९१ रुपैयाँ सहयोग गरेका छन्। भुक्तानीका क्रममा उनले थप ६५ लाख रुपैयाँ सापटी दिएको आर्थिक प्रतिवेदनमा उल्लेख छ।
गत वर्ष भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त कार्यालय पुनर्निर्माणका लागि सुरुमा नौदेखि १० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो। तर उपकरण, फर्निचर र सजावटसहित कुल चार करोड ५९ लाख ३९ हजार ४१ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ। पुनर्निर्माण लगभग सम्पन्न हुने चरणमा रहेको कोषाध्यक्ष श्रेष्ठले जनाएका छन्।
पार्टी सदस्यबाट एक करोड ८८ लाख चार हजार १६८ रुपैयाँ सहयोग प्राप्त भएको छ। कोषाध्यक्ष श्रेष्ठको पहलबाट ५९ लाख ९० हजार ६७८ रुपैयाँ जुटेको भए पनि दाताको नाम खुलाइएको छैन। प्रतिवेदनमा पार्टीका अन्य स्रोतबाट एक करोड २८ लाख ९९ हजार ६८६ रुपैयाँ खर्च भएको पनि उल्लेख छ।
पुनर्निर्माण समितिका संयोजकसमेत रहेका श्रेष्ठका अनुसार लिफ्ट जडान र सभाकक्ष निर्माण अन्तिम चरणमा पुगेका छन्।





