तीनकुने घटनाबारे आयोगको प्रतिवेदनपछि ओलीको आक्रोश

ड्रागन मिडिया सम्वाददाता
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गतेको तीनकुने घटनाबारे सार्वजनिक गरेको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले नकारात्मक प्रभाव पारेको उल्लेख गरेपछि एमाले अध्यक्ष ओलीले आयोगप्रति आक्रोश व्यक्त गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलामा ओलीले दुर्गा प्रसाईंमाथि कारबाही गर्न आयोगले गरेको सिफारिसबारे प्रश्न उठाउँदै जिम्मेवार निकायहरूले काम नगरेको आरोप लगाए। उनले देशको न्याय र मानव अधिकारको परिभाषामाथि पनि प्रश्न गरेका थिए।
आयोगले घटनाबारेको प्रतिवेदनमा तत्कालीन सरकार प्रमुख र मन्त्रीहरूले फरक आस्था वा विचार राख्ने दल तथा समूहप्रति घृणाजन्य अभिव्यक्ति दिएको सञ्चारमाध्यमका समाचारबाट देखिएको उल्लेख गरेको छ। यस्ता अभिव्यक्तिले नकारात्मक प्रभाव पार्न सक्ने भन्दै आयोगले राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ५(१) बमोजिम नेतृत्वको ध्यानाकर्षण गराएको जनाएको छ।
प्रतिवेदनले दुर्गा प्रसाईंको अभिव्यक्ति र घटनामा उनको संलग्नताबारे पनि प्रश्न उठाएको छ। आयोगले त्यसबारे सूक्ष्म अनुसन्धान गरी आवश्यक कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।
तीनकुने घटनामा दुई जनाको मृत्यु भएको थियो। घटनाका क्रममा पार्टी कार्यालय, निजी तथा सार्वजनिक सम्पत्ति र सपिङ कम्प्लेक्समा लुटपाट तथा आगजनी भएको थियो।
यसअघि राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै ओलीले व्यवस्था उल्ट्याउन खोज्ने शक्तिविरुद्ध कार्यकर्ताले “बाघले झम्टिएझैँ” प्रतिवाद गर्नुपर्ने बताएका थिए। उनले त्यस्तो प्रतिवादका लागि निशस्त्र स्थायी टोली परिचालन गर्नुपर्ने अभिव्यक्तिसमेत दिएका थिए।





