कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको मतगणना सानेपास्थित केन्द्रीय कार्यालयमा २३ स्थानमा भइरहेको छ। निर्वाचन समितिले बुधबारसम्म सबै पदको अन्तिम नतिजा सार्वजनिक गर्ने जनाएको छ।
सभापतिसहित प्रमुख पदाधिकारीको मतगणना सकिएपछि सहमहामन्त्री र विभिन्न समावेशी समूहका केन्द्रीय सदस्य पदको गणना अघि बढाइएको हो। पद र समूहअनुसार छुट्टाछुट्टै टोली बनाएर मतपत्र गणना भइरहेको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले बताए।
खुला तथा महिला सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्यको मतगणना पाँच स्थानमा भइरहेको छ। विदेशस्थित नेपाली जनसम्पर्क समितिका मतगणनाका लागि नौ स्थानमा टोली खटाइएको छ। आदिवासी जनजाति समूहका पदको गणना तीन, सुदूरपश्चिम प्रदेशका पदको चार र पिछडिएको क्षेत्रका पदको गणना दुई स्थानमा भइरहेको छ।
उम्मेदवार र उनीहरूका आधिकारिक प्रतिनिधिको उपस्थितिमा कडा सुरक्षाबीच मतगणना जारी छ। यसपटक करिब सात हजार मतदाता रहेकाले गणना केही लामो देखिए पनि १४औँ महाधिवेशनमा जस्तो १२ दिन नलाग्ने कटुवालको भनाइ छ। अघिल्लो महाधिवेशनमा करिब तीन हजार मतदाता थिए।





