२६ आश्विन २०८३, सोमबार

विनिता खड्कालाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न अदालतको आदेश

ड्रागन मिडिया सम्वाददाता

इजरायलमा स्याहारकर्मीका रूपमा रोजगारी दिलाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उम्मेदवार विनिता खड्कालाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले सोमबार जाहेरी र उपलब्ध प्रमाणबाट खड्काको संलग्नता पुष्टि हुने आधार नदेखिएको भन्दै यस्तो आदेश दिएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यस घटनामा ठगीको कसुरमा अनुसन्धान गरिरहेको छ। खड्कालाई असोज २३ गते कांग्रेस महाधिवेशनस्थल राष्ट्रिय सभागृह नजिकबाट पक्राउ गरिएको थियो।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम दुरुपयोग गरी ठगी गरेको आरोपमा यसअघि कांग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि भरत चौलागाईं, बालिका सिवाकोटी, ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठ पक्राउ परेका थिए। प्रहरी अनुसन्धानअनुसार आरोपितहरूले इजरायलमा स्याहारकर्मीको रोजगारी दिलाउने भन्दै दुई करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोप छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button