विमानस्थलमा रकम असुलेको आरोपमा एयरलाइन्स कर्मचारी सुरक्षाकर्मीको जिम्मा

ड्रागन मिडिया सम्वाददाता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई सहजीकरण गर्ने बहानामा रकम असुलेको आशंकामा अध्यागमन विभागले हिमालय एयरलाइन्सका एक कर्मचारीलाई विमानस्थल सुरक्षा कार्यालयको जिम्मा लगाएको छ।
विभागका अनुसार असोज २६ गते वैदेशिक रोजगारीमा जान लागेका मिनबहादुर रावतले श्रम स्वीकृतिको म्याद सकिएपछि पुनः स्वीकृति लिने क्रममा आफूबाट बढी रकम असुलिएको भन्दै फोनमार्फत उजुरी गरेका थिए।
उजुरीमाथि प्रारम्भिक छानबिन गर्दा हिमालय एयरलाइन्सका कर्मचारी हंसराज जैसीको ईसेवा खातामा १४ हजार रुपैयाँ कारोबार भएको देखिएको विभागले जनाएको छ। कार्यालयको दृश्य अभिलेखमा पनि यात्रुलाई सहयोग गर्ने बहानामा शङ्कास्पद गतिविधि देखिएकाले जैसीलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सुरक्षा कार्यालयको जिम्मा लगाइएको अध्यागमन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।





