नानजिङमा पौडेलको स्वागत र बिदाइ भोज, हे चुनयिनसँग पुरानो सहकार्यको कडी उजागर

ड्रागन मिडिया सम्वाददाता
नेपाल–चीन पारस्परिक सहयोग समाजका संस्थापक तथा अध्यक्ष प्रेम सागर पौडेललाई नानजिङमा स्वागत र बिदाइ गर्न आयोजित भोजमा नेपाल–चीन सहकार्यका सम्भावना र पुराना सम्बन्धका कडीबारे छलफल भएको छ। आइतबार साँझ ‘ड्रीम सिटी’मा आयोजित स्वागत रात्रिभोज तथा पौडेलको सम्मानमा भएको बिदाइ भोजमा चिनियाँ सामाजिक, व्यावसायिक र अनुसन्धान क्षेत्रका प्रतिनिधि सहभागी थिए।
पौडेलले पर्यटन, कृषि, जडीबुटी, ऊर्जा र व्यापारसम्बन्धी पूर्वाधारमा चिनियाँ संस्था तथा व्यवसायीसँग सहकार्य विस्तार गर्न सकिने बताउँदै नेपालमा लगानीका अवसर खोज्न आग्रह गर्नुभयो। आयात–निर्यात र ऊर्जा व्यवसायमार्फत दुई देशबीचको व्यापारिक सम्बन्धलाई थप विस्तार गर्न सकिने उहाँको भनाइ थियो।
कार्यक्रममा सहभागी हे चुनयिन चिनियाँ ज्येष्ठ नागरिक सांस्कृतिक आदानप्रदान प्रवर्द्धन संघका उपाध्यक्ष, याङ्त्जी नदी डेल्टा स्वमाध्यम गठबन्धनका संस्थापक, जियाङ्सु स्वमाध्यम गठबन्धनका अध्यक्ष, जियाङ्सु प्रान्तीय उद्यम विकास रणनीति अनुसन्धान संघका उपाध्यक्ष तथा फेइफेइ सांस्कृतिक अनुसन्धान संस्थानका निर्देशक हुनुहुन्छ। भेटका क्रममा उहाँले नेपालबाट चीन गएको पहिलो नेपाली टोलीलाई तालिम दिएको स्मरण गर्नुभयो।
हेले सन् २००५ मा नेपाल–चीन सहयोग समाजसम्बन्धी समाचार आफूले लेखेको पनि पौडेललाई बताउनुभएको थियो। चीनको परराष्ट्र मन्त्रालयको वेबसाइटमा २१ मार्च २००५ मा प्रकाशित अभिलेखअनुसार, तत्कालीन चिनियाँ राजदूत सुन ह फिङले अघिल्लो दिन नेपालगञ्ज पुगेर समाजको स्थापना समारोहमा भाग लिनुभएको थियो। स्थानीय अधिकारी, उद्योग–व्यवसायी, सुरक्षाकर्मी र सञ्चारमाध्यमका प्रतिनिधिसहित पाँच सयभन्दा बढी सहभागी उक्त समारोहबारेको अभिलेखले नेपाल–चीन जनस्तरीय सहकार्यको पुरानो प्रसङ्गसमेत जोडेको छ।
स्वागत रात्रिभोजमा घरजग्गा, निर्माण तथा होटल व्यवस्थापन व्यवसायी चेन मिङ, चीन–रुस व्यापारमा संलग्न झाओ बिन र सूचना प्रविधि तथा कम्प्युटिङ सेवा क्षेत्रका झाङ जुन सहभागी हुनुहुन्थ्यो। अन्तर्राष्ट्रिय सम्बन्ध, भू–राजनीतिक अध्ययन तथा सञ्चार क्षेत्रमा कार्यरत चेन यिङस्योङ, सुन लिझोउ, चेन जिङसेन र शेन हाइफेङ पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो। उहाँहरू विभिन्न व्यावसायिक, सांस्कृतिक र अनुसन्धान संस्थासँग आबद्ध हुनुहुन्छ।





