दसौँ राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

ड्रागन मिडिया सम्वाददाता
प्रधानमन्त्री बालेन्द्र शाहले कर्णाली प्रदेशमा आयोजित दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने भएका छन्।
प्रतियोगिताको उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ। औपचारिक उद्घाटनअघि नै विभिन्न खेल विधाका प्रतिस्पर्धा शुरु भइसकेका छन्।
कर्णाली प्रदेशमा पहिलोपटक आयोजना भइरहेको राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ। अधिकांश खेल सुर्खेतमा आयोजना हुनेछन्।
प्रधानमन्त्री शाहले प्रतियोगिताले नयाँ प्रतिभावान् खेलाडीको पहिचान, खेल पूर्वाधारको विकास तथा राष्ट्रिय एकता र आपसी सद्भाव सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
प्रतियोगितालाई व्यवस्थित रूपमा सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद, प्रदेश सरकार तथा सम्बन्धित निकायहरू व्यवस्थापनमा जुटेका छन्।





