बैतडी प्रशासनद्वारा घरबाटै सेवा लिन सकिने डिजिटल सेवा शुरु

ड्रागन मिडिया सम्वाददाता
जिल्ला प्रशासन कार्यालय बैतडीले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने ‘फेसलेस’ सेवा शुरु गरेको छ। विद्युतीय सुशासनको अवधारणाअन्तर्गत आदिवासी–जनजाति, खस–आर्य तथा दलित समुदायको प्रमाणित गर्ने सेवा अनलाइनमार्फत उपलब्ध गराउन थालिएको हो।
प्रमुख जिल्ला अधिकारी मिना अर्यालका अनुसार जिल्लाको विकट भौगोलिक अवस्था तथा सेवाग्राहीको समय र आर्थिक खर्चलाई ध्यानमा राखेर डिजिटल सेवा सञ्चालनमा ल्याइएको हो।
आवश्यक कागजातसहित इमेलमार्फत निवेदन प्राप्त भएको एक घण्टाभित्र सम्बन्धित व्यक्ति वा वडा कार्यालयको इमेलमा सिफारिसपत्र पठाउने व्यवस्था गरिएको छ।
सेवा प्राप्त गर्न सम्बन्धित वडा कार्यालयको प्रमाणित सिफारिसपत्र, निवेदन, नेपाली नागरिकता प्रमाणपत्रको रङ्गीन स्क्यान प्रति, सम्पर्क नम्बर र इमेल ठेगाना पेश गर्नुपर्नेछ। नागरिकता प्रमाणपत्रमा सम्बन्धित समुदायको सूचीकृत थर स्पष्ट उल्लेख भएको हुनुपर्नेछ।
डिजिटल सेवा सञ्चालनसँगै जातीय प्रमाणितसम्बन्धी सेवा लिन सदरमुकाम धाउनुपर्ने बाध्यता घट्ने तथा सार्वजनिक सेवा प्रवाह थप सहज, छिटो र मितव्ययी हुने अपेक्षा गरिएको छ।





