अमेरिकी वायुसेनाको प्रमुख क्लाउड प्रणालीमा साइबर आक्रमण, संवेदनशील सूचना जोखिममा

ड्रागन मिडिया समाचार कक्ष
अमेरिकी वायुसेनाको प्रमुख क्लाउड कम्प्युटिङ प्रणाली ‘क्लाउड वन’ मा ह्याकरहरूले अनधिकृत पहुँच बनाएको खुलासा भएको छ। यस घटनाले अमेरिकी सैन्य सूचना प्रणाली, हवाई रक्षा नेटवर्क तथा रणनीतिक तथ्याङ्कको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
समाचार संस्था रोयटर्सका अनुसार करिब एक महिनाअघि प्रणाली स्तरोन्नति गर्ने क्रममा साइबर घुसपैठ पत्ता लागेको थियो। आक्रमणकारीको पहिचान, क्षतिको वास्तविक अवस्था र संवेदनशील सूचना चोरी भए–नभएको भने पुष्टि हुन सकेको छैन।
सन २०१७ मा सञ्चालनमा ल्याइएको क्लाउड वनमा माइक्रोसफ्ट, अमेजन, ओराकल र अल्फाबेटका प्रविधि तथा सेवाहरू एकीकृत छन्। यस प्रणालीमार्फत सैन्य कर्मचारीको विवरण, तलब, सैन्य बन्दोबस्ती, मर्मतसम्भार तथा हवाई रक्षा व्यवस्थापनसम्बन्धी विभिन्न सेवाहरू सञ्चालन हुँदै आएका छन्।
यसमा उत्तर अमेरिकाको हवाई रक्षा राडारसम्बन्धी सूचना तथा विश्वभरका दुई सयभन्दा बढी अमेरिकी वायुसेना केन्द्रमा रहेका बम र क्षेप्यास्त्रको निगरानी गर्ने प्रणालीसमेत आबद्ध छन्।
साइबर घुसपैठपछि विभिन्न प्रशासनिक प्रणालीको स्थानान्तरण तथा सफ्टवेयर अद्यावधिक गर्ने काम प्रभावित भएको छ। घटनाबाट भएको सम्भावित क्षतिको मूल्याङ्कन गर्न अमेरिकी साइबर कमाण्डको सहयोग लिइएको रोयटर्सले जनाएको छ।
अमेरिकी वायुसेनाले घटनाको विस्तृत विवरण सार्वजनिक नगरे पनि सैन्य सूचना, प्रणाली र सञ्चालन क्षमताको सुरक्षाका लागि आवश्यक कदम चालिरहेको जनाएको छ।
अमेरिकी रक्षा तथा गुप्तचर निकायहरूमा श्रृंखलाबद्ध साइबर आक्रमण भइरहेका बेला सार्वजनिक भएको यो घटनाले आधुनिक सैन्य संरचनामा डिजिटल प्रविधिमाथिको निर्भरता र साइबर सुरक्षासम्बन्धी चुनौतीलाई थप उजागर गरेको छ।





