१३ मंसिर २०८३, शनिबार

सप्तरीमा जंगली हात्तीको आतंक : दुई जनाको मृत्यु, ६० लाखभन्दा बढीको क्षति

ड्रागन मिडिया सम्वाददाता

सप्तरीको उत्तरी तथा पूर्वी क्षेत्रमा जंगली हात्तीको बथानले आतंक मच्चाउँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। हात्तीले घरगोठ, खाद्यान्न तथा बालीनालीमा व्यापक क्षति पुर्‍याएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।

डिभिजन वन कार्यालय सप्तरीका अनुसार गत असोजदेखि बच्चासहित २५ देखि ३० वटाको संख्यामा रहेको हात्तीको बथान जिल्लाका विभिन्न बस्तीमा प्रवेश गर्दै आएको छ।

हात्तीको आक्रमणबाट सुरुङ्गा नगरपालिका–४ का ७० वर्षीय गोपी चौधरी र रुपनी गाउँपालिका–६ का ५३ वर्षीय सुवबहादुर श्रेष्ठको मृत्यु भएको छ।

वन कार्यालयको प्रारम्भिक विवरणअनुसार ११ वटा घर तथा करिब साढे पाँच बिघा क्षेत्रफलको बालीनालीमा क्षति पुगेको छ। स्थानीय जनप्रतिनिधि तथा पीडितका अनुसार घरगोठ र घरायसी सामग्रीमा मात्रै ६० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

घर तथा खाद्यान्न नष्ट भएपछि कतिपय परिवार छिमेकीको शरणमा पुगेका छन् भने केहीले भत्किएकै घरमा त्रिपाल टाँगेर रात बिताइरहेका छन्।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा वन कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवा परिचालन गरिएको छ। हात्तीको गतिविधि निगरानी गर्न ड्रोन प्रयोग गर्नुका साथै रातभर गस्ती गर्ने व्यवस्था मिलाइएको छ।

डिभिजन वन कार्यालयका प्रमुख मनोज ठाकुरका अनुसार चुरे र भावर क्षेत्र हात्तीको प्राकृतिक बासस्थान तथा आवागमन मार्ग भएकाले धान र गहुँ पाक्ने समयमा मानव–हात्ती द्वन्द्व बढ्ने गरेको छ।

हात्तीको अधिकांश बथान कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा फर्किए पनि जोखिम पूर्ण रूपमा हटेको छैन। प्रशासनले क्षतिको विवरण संकलन तथा राहत वितरणका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ।

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्राकृतिक आवागमन मार्गको संरक्षण र दीर्घकालीन व्यवस्थापन अझै चुनौतीपूर्ण बनेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button