बजेट रोक्का र प्राविधिक तयारी अभावले तनहुँका विकास आयोजना रोकिए

ड्रागन मिडिया सम्वाददाता
गत आर्थिक वर्षको स्वीकृत वार्षिक विकास कार्यक्रममा समावेश भएका तनहुँका केही आयोजना बजेट रोक्का, विस्तृत आयोजना प्रतिवेदन अभाव र प्राविधिक समस्याका कारण कार्यान्वयन हुन सकेनन्।
पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इञ्जिनियर किरण श्रेष्ठका अनुसार देवघाट गाउँपालिका–५ को रेडक्रस मार्ग र भानु नगरपालिका–९ तथा १० को चितीखोला–सुकेधारा मोटरबाटो निर्माण तथा स्तरोन्नति आयोजना गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयले बजेट रोक्का गरेपछि अघि बढ्न सकेनन्।
ऋषिङ गाउँपालिका–८ र ५ जोड्ने सिन्धुस खोला ट्रस पुलको विस्तृत आयोजना प्रतिवेदन तयार नभएकाले निर्माण प्रक्रिया अघि बढाउन कठिन भएको छ. पुल बनेमा दुई वडाका बासिन्दाको आवतजावत सहज हुनुका साथै सडक सञ्जाल विस्तारमा सहयोग पुग्ने अपेक्षा थियो।
भानु नगरपालिका–७ को कार्की गाउँदेखि गौलीगाउँसम्मको मोटरबाटो पनि प्राविधिक र जग्गासम्बन्धी समस्याले रोकिएको छ। हालको बाटोको भिरालोपन बढी भएकाले मापदण्डअनुसार बनाउन सडकको रेखाङ्कन परिवर्तन गर्नुपर्ने देखिएको छ। तर आवश्यक जग्गा व्यवस्थापन र स्थानीय समस्या समाधान नभएसम्म काम शुरु गर्न नसकिने कार्यालयले जनाएको छ।
भानु नगरपालिका–९ र १० को फ्याउसे–कटुवा चितीखोलामा कल्भर्ट बनाउने योजना पनि कार्यान्वयन भएन। प्रस्तावित स्थानमा आवश्यक फैलावट ठूलो भएकाले कल्भर्टको सट्टा सडक पुल बनाउनुपर्ने देखिएको कार्यालयले जनाएको छ। भानु नगरपालिका–४ को धनञ्जय मार्ग स्तरोन्नति आयोजना पनि अघि बढ्न सकेन।
कार्यालयका अनुसार वार्षिक कार्यक्रममा आयोजना समावेश हुनु मात्र पर्याप्त हुँदैन। कार्यान्वयनका लागि बजेट, विस्तृत आयोजना प्रतिवेदन, जग्गा व्यवस्थापन, प्राविधिक अध्ययन र स्थलको वास्तविक अवस्था सुनिश्चित हुनुपर्छ। यी समस्या समयमै समाधान नहुँदा बजेट विनियोजन भएका आयोजना पनि निर्माण चरणमा पुग्न नसकेको इञ्जिनियर श्रेष्ठले बताए।





