बर्दियामा चालु आर्थिक वर्षमा चार बेवारिसे हतियार फेला

ड्रागन मिडिया सम्वाददाता
चाडपर्व नजिकिँदै गर्दा बर्दियाका विभिन्न स्थानबाट बेवारिसे हतियार फेला पर्ने क्रम बढेको छ। पछिल्लो पटक ठाकुरबाबा नगरपालिका–३, गोदानास्थित कोपिला सामुदायिक वनमा मङ्गलबार खिया लागेको कालो कटुवा पेस्तोल फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर देउवाका अनुसार स्थानीयको सूचनापछि इलाका प्रहरी कार्यालय बगनाहाको टोलीले वन क्षेत्रमा खोजतलास गर्दा पेस्तोल बरामद गरेको हो। कानुनी प्रक्रिया पूरा गरी आवश्यक अनुसन्धानका लागि पेस्तोल इलाका प्रहरी कार्यालय बगनाहामा राखिएको उनले बताए।
जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म जिल्लाका विभिन्न स्थानबाट चारवटा बेवारिसे हतियार फेला परेका छन्। साउन २२ गते बढैयाताल गाउँपालिका–७, कर्णालीपुरमा सडकछेउको झाडीबाट कटुवा पेस्तोल बरामद भएको थियो। भदौ २४ गते बढैयाताल गाउँपालिका–२ स्थित सिर्जनशील सामुदायिक वनमा भरुवा बन्दुक र त्यसमा प्रयोग हुने नाल फेला परेको थियो। भदौ २५ गते गेरुवा गाउँपालिका–२, बालुवातार जाने सडकछेउको झाडीबाट अर्को कटुवा पेस्तोल बरामद भएको थियो।
यसअघि गत जेठ २४ गते पनि कोपिला सामुदायिक वनमा बेवारिसे भरुवा बन्दुक फेला परेको थियो। दाउरा खोज्न गएका स्थानीय महिलाले बन्दुक देखेपछि प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेलले अवैध हतियार नियन्त्रणका लागि गत वैशाखदेखि ‘स्विप अपरेसन’ सञ्चालन गरिएको बताए। भारतसँग सीमा जोडिएको बर्दियाका सामुदायिक वन क्षेत्रमा चोरीसिकारी हुने भएकाले प्रहरीले त्यहाँ निगरानी बढाएको उनको भनाइ छ। निगरानीका कारण अवैध हतियार लुकाउने क्रममा ती हतियार बेवारिसे अवस्थामा फेला परेको हुन सक्ने उनले बताए।
चाडपर्वका बेला हुन सक्ने सुरक्षा चुनौती घटाउन र जिल्लामा अझै रहेका हुन सक्ने अवैध हतियार नियन्त्रण गर्न अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।





