प्रस्तावित राजदूत झाको कूटनीतिक क्षमता र कार्यसम्पादनमाथि सांसदको प्रश्न

ड्रागन मिडिया सम्वाददाता
श्रीलङ्काका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाको योग्यता, कूटनीतिक क्षमता र विगतको कार्यसम्पादनमाथि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले प्रश्न उठाएका छन्। संसदीय सुनुवाइका क्रममा उनले झाको प्राज्ञिक पृष्ठभूमि र सत्य निरुपण तथा मेलमिलाप आयोगमा रहँदाको भूमिकाबारे स्पष्ट जवाफ मागेका हुन्।
चौलागाईंले झाको कार्यक्षेत्र मिथिला संस्कृतिमा मात्र सीमित रहेको भन्दै नेपालका समग्र बौद्ध कला र अन्य महत्त्वपूर्ण धार्मिक क्षेत्रलाई श्रीलङ्कासँग जोड्ने योजना के छ भनी प्रश्न गरे। भारत र चीनको प्रभाव रहेको श्रीलङ्कामा नेपालको राष्ट्रिय हित कसरी जोगाउने र द्विपक्षीय सम्बन्ध विस्तार गर्ने भन्नेबारे पनि उनले स्पष्ट कार्ययोजना मागेका थिए।
सन् २०१५ देखि २०१९ सम्म सत्य निरुपण तथा मेलमिलाप आयोगमा रहँदा द्वन्द्वपीडितलाई न्याय दिलाउन नसकेको र मुद्दा टुङ्ग्याउन नसकेको आरोप लगाउँदै सांसद चौलागाईंले विगतको कार्यसम्पादनमाथि प्रश्न गरे। द्वन्द्व व्यवस्थापनमा अपेक्षित परिणाम दिन नसकेको व्यक्तिबाट संवेदनशील कूटनीतिक जिम्मेवारीमा के परिणाम अपेक्षा गर्न सकिन्छ भन्ने उनको जिज्ञासा थियो।
उनले सार्क र बिमस्टेकका मञ्चमार्फत क्षेत्रीय हित प्रवर्द्धन गर्ने, लुम्बिनी र श्रीलङ्काबीच धार्मिक पर्यटन विस्तार गर्ने तथा हवाई उडान अघि बढाउने ठोस योजना प्रस्तुत गर्न झालाई आग्रह गरेका छन्। राजदूत नियुक्तिसम्बन्धी निर्देशिका र समावेशिताका आधारमा गरिएका नियुक्तिको औचित्यमाथि पनि उनले प्रश्न उठाएका थिए।





