महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि भेटियो

ड्रागन मिडिया सम्वाददाता
महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी सहायक निरीक्षक सागरराज थारुको शव पाँच दिनपछि भेटिएको छ। बुधबार उनको शव बेपत्ता भएको स्थानभन्दा करिब १०–१५ मिटर दक्षिणतर्फ फेला परेको हो।
भत्किएको झोलुङ्गे पुलसँगै चुडिएको नेपाल टेलिकमको इन्टरनेट तार तान्ने क्रममा गत शनिबार डुङ्गा अनियन्त्रित भएपछि थारु नदीमा बेपत्ता भएका थिए। त्यस दिनदेखि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले संयुक्त रूपमा खोजी गरिरहेको थियो। सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तथा गोताखोर टोलीले पाँचौँ दिन शव फेला पारेको हो।
दोधारा चाँदनीस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक विश्व जिसीका अनुसार शव नदीमा अड्किएको अवस्थामा भेटिएको थियो। पोस्टमार्टमपछि शव आफन्तलाई बुझाएर अन्त्येष्टि गरिने उनले बताए।





