२८ आश्विन २०८३, बुधबार

फलामे बिममाथि काठ बिछ्याएर खुलाइयो माथिल्लो मनाङको सडक

ड्रागन मिडिया सम्वाददाता

बाढीपहिरोले अवरुद्ध बनाएको माथिल्लो मनाङतर्फको सडक तीन सातापछि मंगलबार साँझदेखि सञ्चालनमा आएको छ। चामेमा मर्स्याङ्दी नदी थुनिएर बनेको जलाशयमा डुबेको मोटरेबल पुलका फलामे बिममाथि काठ बिछ्याएर अस्थायी पुल बनाइएको हो।

करिब ३५ मिटर लामो पुलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले निर्माणमा सहयोग गरेका थिए। अस्थायी पुलबाट जिप र मोटरसाइकलजस्ता हलुका सवारीसाधनलाई आवतजावत गर्न दिइएको छ। ठूला सवारीसाधनलाई भने रोक लगाइएको मनाङ प्रशासनले जनाएको छ।

घट्टेखोलाबाट आएको बाढीपहिरोले मर्स्याङ्दी नदीको बहाव थुनेपछि पुल गेग्रानसहितको पानीमा डुबेको थियो। पुलमुनिबाट पानीको बहाव खुलाउन तीन सातासम्म गरिएका प्रयास सफल नभएपछि चाडपर्व र पर्यटकको आवागमनलाई ध्यानमा राखेर काठको अस्थायी संरचना बनाइएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले बताउनुभयो। दशैँपछि नदीको बहाव खुलाउने प्रयास फेरि गरिने उहाँको भनाइ छ।

पुल बन्द हुँदा माथिल्लो मनाङमा सवारीसाधन, खाद्यान्न तथा अन्य सामग्रीको ढुवानी प्रभावित भएको थियो। जोखिम मोलेर पुलको फलामे बिमबाट वारपार गर्न थालेपछि यात्रु र पर्यटकको सुरक्षाका लागि वैकल्पिक पुल बनाइएको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो।

अस्थायी पुल बनेसँगै बेसीसहरदेखि माथिल्लो मनाङसम्म सडक सम्पर्क पुनः जोडिएको छ। मनाङ प्रशासनका अनुसार बेसीसहर–चामे सडकको करिब ६१.५ किलोमिटर र चामे–मनाङ–खाङ्सार सडकको करिब ३६ किलोमिटर खण्डमा सवारी आवागमन सुचारु भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button