‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शन

ड्रागन मिडिया सम्वाददाता
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टोलीले ललितपुरस्थित लबिम मलमा कार्यक्रम आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो।
ट्रेलरमा बेरोजगारीबाट दिक्क भएका काजी, बीके र छन्त्यालले मुस्ताङमा शान्ति होटल सञ्चालन गरेको देखाइएको छ। होटल खुलेपछि कथाले नयाँ मोड लिन्छ। सृजना गुरुङले निर्वाह गरेको नयाँ मैयाको पात्रसँग काजीको विवाह भएको दृश्य र बिपीन कार्कीको भूमिकालाई पनि ट्रेलरमा देखाइएको छ।
‘कबड्डी’का अघिल्ला चार शृङ्खलाले दर्शकको राम्रो साथ पाएपछि निर्माण गरिएको पाँचौँ चलचित्र कात्तिक ६ देखि प्रदर्शनमा आउनेछ। चलचित्रमा दयाहाङ राई, बिपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सृजना गुरुङ, मिरुना मगर, कविता आले, कमलमणि नेपाल र शिशिर बाङ्देललगायतले अभिनय गरेका छन्।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङले लगानी गरेका छन्। सागर राज कार्यकारी निर्माता रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा, अधा सुर र झुमा लिम्बूको सङ्गीत, सञ्जय लामाको छायाङ्कन तथा सुरेन्द्र पौडेलको सम्पादन छ।





