म्यानमारमा दूरसञ्चार ठगी गिरोहका तीन प्रमुख सदस्यलाई चीनमा मृत्युदण्ड

ड्रागन मिडिया समाचार कक्ष
म्यानमारमा दूरसञ्चार ठगी र जुवासहितका आपराधिक गतिविधि सञ्चालन गरेको वेई परिवार नेतृत्वको गिरोहका तीन प्रमुख सदस्यलाई चीनले मृत्युदण्डको सजाय सुनाएको छ।
पूर्वी चीनको फुजियान प्रान्तस्थित छ्वानचौ मध्यवर्ती जनअदालत र नानआन जनअदालतले सुनाएको फैसलाअनुसार, गिरोहका अन्य तीन सदस्यलाई आजीवन कारावास र ५५ जनालाई तीन वर्ष तीन महिनादेखि २४ वर्षसम्म कैद सजाय दिइएको छ। अदालतले जरिवाना, सम्पत्ति जफत र देशनिकालाजस्ता थप सजाय पनि तोकेको छ।
अदालतका अनुसार वेई परिवार नेतृत्वको गिरोहले सन् २०१९ देखि म्यानमारको कोकाङ क्षेत्रमा प्रभाव जमाएर धेरै ठगी केन्द्र स्थापना गरेको थियो। ती केन्द्रमा सशस्त्र नियन्त्रण कायम गर्दै दूरसञ्चार ठगी, जुवा, जबर्जस्ती रकम असुली, संगठित वेश्यावृत्ति, लागुऔषध ओसारपसार र अवैध सीमा पारलगायतका अपराध गरिएका थिए।
फैसलाअनुसार, गिरोहको जुवा र ठगीसम्बन्धी कारोबार १२ अर्ब २० करोड युआन अर्थात् करिब १ अर्ब ८१ करोड अमेरिकी डलर बराबर थियो।
दूरसञ्चार ठगीमा संलग्न केही व्यक्तिले निर्देशन नमान्दा उनीहरूलाई नियन्त्रण गर्ने क्रममा वेई परिवार नेतृत्वको गिरोहले अन्य ठगी समूहसँग मिलेर दुई चिनियाँ नागरिकको हत्या गरेको अदालतले जनाएको छ। गिरोहको नियन्त्रणमा रहेको मिलिसिया बलका एक सदस्यले मनपरी हत्या गर्दा पनि दुई चिनियाँ नागरिकको ज्यान गएको अदालतको फैसलामा उल्लेख छ।
प्रतिवादीहरू हत्या र ठगीसहित सातवटा कसुरमा दोषी ठहर भएका छन्। फैसला सुनाउँदा सांसद, राजनीतिक सल्लाहकार र घटनामा संलग्न व्यक्तिका परिवारका सदस्यसहित सर्वसाधारण उपस्थित थिए।





