होङयुआनमा चिनियाँ विशेषज्ञ टोलीको निःशुल्क स्वास्थ्य शिविर, ५० भन्दा बढीले सेवा लिए

ड्रागन मिडिया समाचार कक्ष
चीनको छेङ्दु परम्परागत चिकित्सा विश्वविद्यालयको तेस्रो सम्बद्ध अस्पतालको नेतृत्वमा विभिन्न उच्चस्तरीय अस्पतालका चिकित्सकले अक्टोबर १० मा सिचुआन प्रान्तको होङयुआन जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन्। होङयुआन जिल्ला जनअस्पतालमा भएको शिविरमा ५० भन्दा बढी स्थानीयले स्वास्थ्य सेवा लिएका छन्।

श्वासप्रश्वास, गम्भीर रोग, मुटु, स्त्रीरोग, मिर्गौला र ज्येष्ठ नागरिक स्वास्थ्यका विशेषज्ञले बिरामीको परीक्षण, परामर्श र उपचार गरेका थिए। चिकित्सकले रोगको अवस्था र परीक्षणका नतिजा बुझाउँदै आवश्यक उपचार, औषधि सेवन तथा स्वास्थ्यलाभका उपाय सुझाएका थिए।

उच्च भूभागमा देखिने स्वास्थ्य समस्या, दीर्घरोगको उचित व्यवस्थापन र औषधिको सुरक्षित प्रयोगबारे स्थानीयलाई जानकारीसमेत दिइएको थियो। शिविरसँगै विशेषज्ञ टोलीले उच्च भूभागमा देखिने सामान्य तथा बढी फैलिएका रोग र उपचारका चुनौतीबारे अध्ययन गरी स्थानीय स्वास्थ्य सेवाका कमी र आवश्यकतासमेत पहिचान गरेको छ। यसबाट जिल्लाको आधारभूत स्वास्थ्य सेवा सुधार्न आगामी दिनमा लक्षित सहयोगको आधार तयार हुने अपेक्षा गरिएको छ।





