२८ आश्विन २०८३, बुधबार

इजरायल पठाइदिने भन्दै नक्कली मन्त्रीपरिषद निर्णय देखाएर ठगीको आरोप

ड्रागन मिडिया सम्वाददाता

सरकारी निर्णयको नक्कली कागजात देखाएर इजरायलमा केयरगिभरका रूपमा रोजगारी दिलाइदिने भन्दै रकम उठाएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले पाँच जनामाथि अनुसन्धान गरिरहेको छ। नेपाल र इजरायल सरकारबीचको सरकार–सरकार प्रक्रियाअन्तर्गत सन् २०२४ मा भएको केयरगिभर परीक्षाको प्रतीक्षा सूचीमा रहेका व्यक्तिलाई लक्षित गरी ठगी गरिएको प्रहरीको अनुसन्धानमा खुलेको हो।

प्रहरीका अनुसार प्रतीक्षा सूचीमा रहेका १५६ जनालाई मन्त्रीपरिषदको विशेष निर्णयबाट तत्काल इजरायल पठाउन सकिने भन्दै नक्कली कागजात देखाइएको थियो। प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग पहुँच रहेको दाबी गर्दै प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँसम्म मागिएको आरोप छ।

ब्युरोमा हालसम्म २२ जनाले उजुरी दिएका छन्। उनीहरूले साढे ६ करोड रुपैयाँ ठगी भएको दाबी गरेका छन्। पीडितको संख्या अझ बढ्न सक्ने भन्दै ब्युरोले अन्य प्रभावित व्यक्तिलाई पनि सम्पर्क गरी उजुरी दिन आग्रह गरेको छ।

अनुसन्धानका क्रममा भरत चौलागाईं, बालिका शिवाकोटी, ज्ञानबहादुर कार्की, शिवराम श्रेष्ठ र विनिता खड्का पक्राउ परेका छन्। खड्कालाई भने काठमाडौं जिल्ला अदालतले थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको छ। अदालतको आदेशले उनीमाथिको अनुसन्धान रोकिएको होइन।

प्रहरीले सुरुमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो। पछि आपराधिक लाभ र संगठित अपराधसम्बन्धी कसुरमा समेत अनुसन्धान थपिएको ब्युरोले जनाएको छ। घटनामा संलग्न रहेको आरोप लागेका व्यक्तिहरूबारे अन्तिम निष्कर्ष अनुसन्धान र न्यायिक प्रक्रियापछि मात्र आउनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button