बेलायत भ्रमण सकेर प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

ड्रागन मिडिया सम्वाददाता
प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किनुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई बलाधिकृत रथी प्रदीपजंग केसीले स्वागत गर्नुभयो।
भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेलायती सेनाका सेनाध्यक्ष जनरल सर रोली वाकरसहित उच्च सैनिक अधिकारीसँग शिष्टाचार भेट गर्नुभएको थियो। वेल्सको ब्रेकनस्थित इन्फ्यान्ट्री ब्याटल स्कुलको भ्रमणका क्रममा उहाँले अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘क्याम्ब्रियन पेट्रोल २०२६’ को निरीक्षण गर्नुभयो।
अभ्यासमा स्वर्ण पदक जित्न सफल नेपाली सैनिक टोलीका सकलदर्जालाई प्रधानसेनापति सिग्देलले प्रधानसेनापति प्रशंसा निशानबाट सुशोभित गर्नुभएको थियो। यस भ्रमणले नेपाल र बेलायतबीचको द्विपक्षीय सैनिक सम्बन्ध थप सुदृढ हुने नेपाली सेनाले विश्वास व्यक्त गरेको छ।





