२८ आश्विन २०८३, बुधबार

खजुराको जिल्ला स्तरीय फुटबलमा ब्रोदर्स एफसी र अप्सरा विजयी

ड्रागन मिडिया सम्वाददाता

बाँकेको खजुरामा जारी जिल्ला स्तरीय फुटबल प्रतियोगितामा बुधबार ब्रोदर्स एफसी र एफसी अप्सरा कोहलपुर विजयी भएका छन्।

न्यू डाँफे स्पोर्ट्स क्लब खजुराको आयोजनामा भइरहेको प्रतियोगिताको पहिलो खेलमा ब्रोदर्स एफसीले चन्द्रज्योति स्पोर्ट्स क्लबलाई ३–० गोलले पराजित गर्‍यो। ब्रोदर्सका विपिन सिजालीले दुई र समीर विकले एक गोल गरे।

दोस्रो खेलमा एफसी अप्सरा र एफसी सिमलघारीले निर्धारित समयमा २–२ गोलको बराबरी खेले। सिमलघारीका गोपाल रावल र अरुण नेपालीले एक–एक गोल गरे। अप्सराका दिवस खड्काले गोल गरे भने सिमलघारीका खेलाडीले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुगेको थियो। टाइब्रेकरमा अप्सरा ७–६ गोलले विजयी भयो, क्लब अध्यक्ष बालाराम खत्रीले जानकारी दिए।

विजेता टोलीले ५१ हजार १११ रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र तथा उपविजेताले ३१ हजार १११ रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्। नेपालगञ्ज न्युरो अस्पताल प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ। पुरस्कार राशि क्लबका संरक्षक तथा खजुरा गाउँपालिका–४, डी गाउँका लीलबहादुर थापाले सौजन्य गरेका हुन्।

प्रतियोगितामा १५ टोली सहभागी छन्। असोज २५ गतेदेखि शुरु भएको प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button