तीन महिनामा दुई लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा

ड्रागन मिडिया सम्वाददाता
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा दुई लाख चार हजार २४८ नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार असोजमा मात्रै ७३ हजार ७६५ जनाले स्वीकृति लिएका हुन्।
साउनमा ७० हजार ४४१ र भदौमा ६० हजार ४२ जनाले श्रम स्वीकृति लिएका थिए। असोजमा स्वीकृति लिनेमा ६३ हजार ३७७ पुरुष र १० हजार ३८८ महिला छन्। नयाँ श्रम स्वीकृति लिने ४३ हजार ५५९ जना र बिदामा नेपाल आएर पुनः स्वीकृति लिई फर्कने ३० हजार २०६ जना रहेको विभागले जनाएको छ।
असोजमा सबैभन्दा बढी २३ हजार ८९९ जनाले संयुक्त अरब इमिरेट्सका लागि स्वीकृति लिएका छन्। कतारका लागि ११ हजार ४९७, मलेसियाका लागि नौ हजार ६५३, साउदी अरबका लागि आठ हजार ३६६ र कुवेतका लागि पाँच हजार २७ जनाले स्वीकृति लिएका छन्। रोमानियाका लागि दुई हजार ४७८ र जापानका लागि एक हजार ४९५ जनाले अनुमति पाएका छन्।
सीपका आधारमा ४० हजार ७०० दक्ष, २० हजार २२८ अदक्ष र १२ हजार ३४२ अर्धदक्ष श्रमिक वैदेशिक रोजगारीमा गएका छन्। व्यावसायिक जनशक्ति ४१५ र उच्च दक्ष जनशक्ति ८० जना छन्।
जिल्लागत रूपमा झापाबाट सबैभन्दा बढी तीन हजार ४९० जनाले श्रम स्वीकृति लिएका छन्। धनुषाबाट तीन हजार ३२६, मोरङबाट तीन हजार १७७, सिराहाबाट दुई हजार ७२३ र सुनसरीबाट दुई हजार ५११ जनाले स्वीकृति लिएका छन्। मनाङ, मुस्ताङ र डोल्पाबाट भने ५० जनाभन्दा कम श्रमिक वैदेशिक रोजगारीमा गएको विभागको तथ्याङ्क छ।





