कात्तिक १३ र १४ गते वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

ड्रागन मिडिया सम्वाददाता
बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले कात्तिक १३ र १४ गते देशका विभिन्न क्षेत्रमा वर्षा, चट्याङ र हावाहुरी हुन सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्क रहन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुन सक्नेछ। केही स्थानमा भने भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यसको प्रभाव कात्तिक १३ गते शुक्रबारदेखि नेपालमा देखिन सक्ने प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा हुन सक्ने अनुमान छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको प्राधिकरणले जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न र अत्यावश्यक कामबाहेक यात्रा स्थगित गर्न आग्रह गरिएको छ। नदी तथा खोलाका किनार र बाढीको जोखिम भएका क्षेत्रमा नबस्न पनि प्राधिकरणले अनुरोध गरेको छ।
प्राधिकरणले मौसम पूर्वानुमान तथा आधिकारिक पूर्वसूचना नियमित रूपमा हेर्न र जोखिम देखिए तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ। आपत्कालीन अवस्थामा मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीका लागि १०० र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्क गर्न सकिने प्रवक्ता केसीले बताए।





