फेटा स्वास्थ्य केन्द्र विवादपछि घेरिएका ३८ कर्मचारी उद्धार

ड्रागन मिडिया सम्वाददाता
बाराको फेटा गाउँपालिका–३ स्थित स्वास्थ्य केन्द्र उद्घाटनका क्रममा भएको विवादपछि भवनभित्र घेरिएका प्रहरी निरीक्षकसहित करिब ३८ सरकारी कर्मचारीलाई झन्डै दुई घण्टापछि उद्धार गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाराका अनुसार उनीहरूलाई स्वास्थ्य केन्द्रको मुख्य भवनबाट सकुशल बाहिर निकालिएको हो।
संघीय सरकारबाट निर्माण भएको १५ शय्याको स्वास्थ्य केन्द्र उद्घाटन गर्न शनिबार बिहान कार्यक्रम आयोजना गरिएको थियो। विद्युत् र अन्य आवश्यक पूर्वाधारको काम पूरा नभई उद्घाटन गर्न खोजिएको भन्दै स्थानीयले विरोध गरेका थिए। शिलालेख तोडफोड भएपछि गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीका समर्थक र विरोधी स्थानीयबीच विवाद चर्किएको थियो।
विवादले झडपको रूप लिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको बताइएको छ। गोली लागेर एक स्थानीय युवक घाइते भएका छन्। प्रहरी अधिकारीका अनुसार भीड नियन्त्रण गर्न हवाई फायर गरिएको थियो; घाइतेलाई लागेको गोलीको स्रोतबारे भने थप विवरण सार्वजनिक भएको छैन।
घटनापछि फेटा क्षेत्रमा तनाव बढेको छ। जिल्ला प्रशासनले सुरक्षा समितिको बैठक बोलाउने र थप झडप रोक्न आवश्यक सुरक्षा व्यवस्था गर्ने तयारी गरेको जनाएको छ। घाइते युवकलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले बताएका छन्।





