सरकारी खरिद प्रणालीमा ठेक्काका विवरण हेरफेर गरेको आरोपमा तीन जना पक्राउ

ड्रागन मिडिया सम्वाददाता
सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्याएर विभिन्न ठेक्काका विवरण हेरफेर गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय सरकारी खरिद प्रणालीमा पहुँच पुर्याई ठेक्कासम्बन्धी कागजात परिवर्तन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै त्यससँग सम्बन्धित कागजात परिवर्तन गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका व्यक्तिको परिचय प्रहरीले सार्वजनिक गरेको छैन।
ब्युरोमा परेको निवेदनका आधारमा गरिएको प्राविधिक अनुसन्धानपछि उनीहरूको संलग्नता खुलेको प्रहरीले जनाएको छ। जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएर उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ परेकामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको छ। अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।





