काठमाडौँमा प्रहरीको स्वीप अपरेसन जारी, एक सातामा ६४० जना पक्राउ

ड्रागन मिडिया सम्वाददाता
काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण र शान्तिसुरक्षा सुदृढ गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष स्वीप अपरेसनका क्रममा एक सातामा ६४० जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कात्तिक ९ देखि १६ गतेसम्म विभिन्न स्थानमा चलाइएको अभियानमा ५५९ पुरुष, ७८ महिला र तीन जना अन्य पक्राउ परेका हुन्। पक्राउ परेकामध्ये विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ८२ जना र चालु मुद्दामा फरार रहेका २० जना प्रतिवादी छन्। उनीहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
अभियानका क्रममा सार्वजनिकस्थल, सार्वजनिक यातायात, सरकारी कार्यालय आसपास, बसपार्क र व्यस्त बजारमा निगरानी तथा जाँच बढाइएको थियो। चोरी, लुटपाट, दुर्व्यवहार र बिचौलियाका गतिविधि हुनसक्ने क्षेत्रलाई लक्षित गरी विशेष प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाले बताए।
प्रहरीले पक्राउ परेकामाथि लागेको आरोप र उनीहरूको संलग्नताबारे अनुसन्धान भइरहेको जनाएको छ। अपराध रोकथाम र नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउन निगरानी तथा जाँच अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।





