पूर्वप्रधानमन्त्री नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ड्रागन मिडिया सम्वाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध मोरङमा हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्न अनुमति दिएको प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले मंगलबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो। आयोगका अनुसार नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषदको निर्णयबाट ५९ बिघा जग्गा सट्टापट्टाका लागि अनुमति दिइएको थियो। प्रतिवादीहरूबाट ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो मागदाबी गरिएको विशेष अदालतकी प्रवक्ता पार्वती हितानले बताइन्।
नेपालविरुद्ध यसअघि काभ्रेमा पतञ्जलीको जग्गा सट्टापट्टाका लागि अनुमति दिएको आरोपमा दायर भ्रष्टाचार मुद्दा पनि विशेष अदालतमा विचाराधीन छ। उक्त मुद्दा २०८२ जेठ २२ गते दायर गरिएको थियो।
मुद्दा दायर हुनु आरोपको न्यायिक पुष्टि होइन। यसको निरूपण अदालतको प्रक्रियाबाट हुनेछ।





