नेपाली कम्युनिस्ट पार्टी र उमा भुजेल नेतृत्वको नेकपाबीच एकताका लागि १० बुँदे सहमति

ड्रागन मिडिया सम्वाददाता
नेपाली कम्युनिस्ट पार्टी र उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता र कम्युनिस्ट आन्दोलनको एकीकरणका लागि १० बुँदे सहमति भएको छ।
सहमतिपत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीकी महासचिव उमा भुजेलले हस्ताक्षर गरेका छन्।
सहमतिअनुसार एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुनेछ। नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद रहनेछ। तत्कालीन कार्यनीतिमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसँगै समाजवादको आधार तयार गर्ने उल्लेख छ।
आन्दोलन मूलतः शान्तिपूर्ण हुने र परिस्थिति तथा समयअनुसार आन्दोलनका विभिन्न रूप अपनाउन सकिने सहमतिमा जनाइएको छ। सडक, संसद र सरकारलाई आन्दोलनका मोर्चाका रूपमा लिइनेछ।
आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पार्टीको एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिनेछ। केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, सचिवालय, कार्यसंयोजन समिति तथा अन्य केन्द्रीय निकायमा सहमतिका आधारमा समायोजन हुनेछ। सबै तहका पार्टी समिति र जनसङ्गठनको समायोजन मंसिर मसान्तभित्र पूरा गर्ने सहमति भएको छ।
पार्टी समितिहरू विधि, पद्धति र जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार सञ्चालन हुनेछन्। एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिह्न पाँचकुने तारा रहनेछ।
सैद्धान्तिक तथा वैचारिक मतभेद र विगतको समीक्षाबारे निरन्तर छलफल गर्दै एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुग्ने सहमतिपत्रमा उल्लेख छ।





