आईजीपीमा पुनर्बहालीको माग गर्दै कार्की सर्वोच्च पुगे
ड्रागन मिडिया सम्वाददाता
नेपाल प्रहरीको महानिरीक्षक पदमा निरन्तरता दिनुपर्ने मागसहित दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। सरकारले उनलाई पदबाट हटाएर प्रधानमन्त्री वालेन्द्र शाहको सुरक्षा सल्लाहकार नियुक्त गरेपछि कार्कीले निर्णय बदर गर्न र पदमा पुनर्बहाली गर्न माग गर्दै रिट निवेदन पेस गरेका हुन्।
बुधबार सरकारले कार्कीलाई महानिरीक्षकबाट हटाएर अतिरिक्त महानिरीक्षक मनोज केसीलाई प्रहरी प्रमुख नियुक्त गरेको थियो। अदालत स्रोतका अनुसार कार्की रिट निवेदनसहित सर्वोच्च पुगे पनि निवेदन दर्ता प्रक्रिया सुरु भएको छैन।
कार्की निकट कानुन व्यवसायीका अनुसार रिटमा आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबी गर्दै महानिरीक्षक पदमा पुनर्बहालीको माग गरिएको छ। कार्कीको कार्यकाल अझै १७ महिना बाँकी थियो।
सरकारले महानिरीक्षक नियुक्त गरेका केसीलाई बुधबार नै दर्ज्यानी चिह्न प्रदान गरिएको थियो। उनले पदभारसमेत ग्रहण गरिसकेका छन्।





