आईजीपीलाई हटाउनुको आधार सार्वजनिक गर्न आङ्देम्बेको माग

ड्रागन मिडिया सम्वाददाता
प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाउनुको कारण र आधारबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्। कार्कीको कार्यकाल १७ महिना बाँकी रहँदा उनलाई हटाउनु राष्ट्रिय आवश्यकता कसरी बन्यो भन्ने प्रश्न उनले गरेका छन्।
बिहीबार बिहान सामाजिक सञ्जालमा लेख्दै आङ्देम्बेले भोटेकोशी र बूढीगण्डकीको बाढीबाट नागरिक पीडित भएको, विस्थापित सुकुम्बासीको अवस्था दयनीय रहेको र महँगीले जनजीवन प्रभावित भएको उल्लेख गरेका छन्। देश गम्भीर सङ्कटतर्फ गइरहेका बेला सरकारको प्राथमिकता प्रहरी प्रमुखलाई हटाउने भएको भन्दै उनले कुन तथ्य र प्रमाणका आधारमा निर्णय गरिएको हो भन्ने जवाफ मागेका छन्।
सरकारका प्रवक्ताले पार्टीको निर्देशनमा कार्कीलाई हटाइएको बताएको तर रास्वपाका प्रवक्ताले पार्टीले त्यस्तो निर्देशन नदिएको भनेको उल्लेख गर्दै आङ्देम्बेले सरकार कसको निर्देशनमा चलिरहेको छ भनेर प्रश्न गरेका छन्।
उनले अनुसन्धानका लागि प्रहरीले बरामद गरेको बिचौलिया भनिएका इनम सापकोटाको मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुगेको भन्ने विषय पनि उठाएका छन्। “अनुसन्धानका लागि बरामद गरिएको मोबाइल त्यहाँ किन पुग्यो? मोबाइलमा भएको के मेटाउनु थियो?” भन्दै उनले छानबिनको माग गरेका छन्।
जनताले सुशासन, भ्रष्टाचार अन्त्य र जीवनस्तर सुधारका लागि सरकारलाई मत दिएको उल्लेख गर्दै आङ्देम्बेले प्रहरी प्रशासनलाई नियन्त्रणमा राख्न वा सत्ताशक्तिको दुरुपयोग गर्न जनमत प्राप्त नभएको बताएका छन्। अनेक तानाबाना बुनेर आईजीपी हटाउनु सुशासन नभई शक्ति प्रदर्शन भएको उनको टिप्पणी छ।





