२० कार्तिक २०८३, बिहीबार

विराटनगरका रात्रिकालीन व्यवसाय मध्यरातसम्म खोल्न माग

ड्रागन मिडिया सम्वाददाता

विराटनगरका होटल, रेस्टुरेन्ट तथा बार व्यवसायीले रात्रिकालीन व्यवसाय राति १२ बजेसम्म सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन्। प्रशासनले तोकेको समयसीमा पुनरावलोकन गर्न र प्रहरी हस्तक्षेप रोक्न माग गर्दै उनीहरूले बुधबार महानगरपालिकाकी कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीलाई ज्ञापनपत्र बुझाए।

मोरङ जिल्ला प्रशासन कार्यालयले होटल, रेस्टुरेन्ट, गजल, स्पा, क्लब तथा लाउन्जलाई राति १० बजेसम्म प्रवेशद्वार बन्द गर्न र साढे १० बजेसम्म ग्राहकलाई बाहिर पठाइसक्न निर्देशन दिएको छ। व्यवसायीहरूले यो समयसीमा व्यावहारिक नभएको बताएका छन्।

चाडपर्वका बेला कडा समयसीमा लागू हुँदा व्यापारमा असर परेको र व्यवसाय सञ्चालन गर्ने स्वतन्त्रता प्रभावित भएको व्यवसायीको भनाइ छ। प्रशासनको समयसीमासँगै प्रहरी हस्तक्षेपले आफूहरूमा असुरक्षा बढाएको उनीहरूको दाबी छ।

व्यवसायीहरूले गत कात्तिक १७ गते राति विराटनगर–३ स्थित फिल गुड एन्ड ग्रिलमा भएको प्रहरी कारबाहीप्रति पनि आपत्ति जनाएका छन्। महानगरपालिका र प्रशासनबीच निश्चित समयसम्म व्यवसाय सञ्चालन गर्न दिने समझदारी भएको दाबी गर्दै उनीहरूले राति साढे ११ बजे प्रहरी प्रतिष्ठानमा प्रवेश गरेको बताएका छन्। उनीहरूका अनुसार सञ्चालक निर्जलकुमार श्रेष्ठ र दुई कर्मचारीलाई पक्राउ गरी रातभर हिरासतमा राखिएको थियो।

साझा पहल समूहका संयोजक वसन्त अधिकारीले रात्रिकालीन व्यवसाय सुरक्षित र मर्यादित रूपमा सञ्चालन हुने वातावरण बनाउन महानगरपालिकाले पनि जिम्मेवारी लिनुपर्ने बताए। उनले राति १२ बजेसम्म व्यवसाय सञ्चालन गर्न दिन र अनावश्यक धरपकड रोक्न आग्रह गरे।

ज्ञापनपत्र बुझ्दै कार्यवाहक प्रमुख कार्कीले व्यवसायीले उठाएका समस्याबारे जिल्ला प्रशासन कार्यालयसँग छलफल गरेर समाधान खोज्ने प्रतिबद्धता जनाइन्। “समस्या गम्भीर छ, यसको चाँडै निकास खोज्नेछौँ,” उनले भनिन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button