२० कार्तिक २०८३, बिहीबार

प्लास्टिकजन्य फोहोर नजलाउन काठमाडौं महानगरको आग्रह

ड्रागन मिडिया सम्वाददाता

जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणको जोखिम बढ्न सक्ने भन्दै काठमाडौं महानगरपालिकाले प्लास्टिकजन्य फोहोर नजलाउन आग्रह गरेको छ।

महानगरको वातावरण विभागकी प्रमुख सरिता राईका अनुसार सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा निर्माणकार्यबाट उत्पन्न धुलो, उद्योग–कलकारखानाको धुवाँ र खुला ठाउँमा प्लास्टिकजन्य फोहोर जलाउँदा निस्कने धुवाँ वायु प्रदूषणका प्रमुख कारण हुन्।

प्रदूषणबाट बालबालिका, ज्येष्ठ नागरिक, दम तथा खोकीका बिरामी र दीर्घरोगी बढी जोखिममा पर्ने भएकाले मापदण्डविपरीतका गतिविधि नगर्न राईले सम्बन्धित सबैलाई आग्रह गरिन्।

महानगरका अनुसार सवारीसाधन प्रदूषण नियन्त्रण मापदण्डभित्र रहेर चलाउन र नियमित मर्मतसम्भार गरी धुवाँ कम गर्नुपर्छ। निर्माण सामग्री सडक वा फुटपाथमा थुपार्न नहुने पनि विभागले जनाएको छ।

उद्योग, कलकारखाना तथा अस्पतालले काठमाडौं महानगरपालिका प्रदूषण नियन्त्रण मापदण्ड, २०८१ ले तोकेको वायु गुणस्तर र धुवाँसम्बन्धी व्यवस्था पालना गर्नुपर्नेछ। उद्योगहरूले वायु प्रदूषण कम गर्ने उपकरणसमेत प्रयोग गर्नुपर्ने महानगरले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button