कमलपोखरीमा पाँच सयभन्दा बढी व्रतालुका लागि निःशुल्क छठ घाट

ड्रागन मिडिया सम्वाददाता
तिहारको चहलपहल सेलाउन नपाउँदै छठ पर्वको तयारी सुरु भएको छ। छठ नजिकिँदै गर्दा काठमाडौँको कमलपोखरीमा घाट निर्माण, सरसफाइ, रङरोगन र बत्ती जडानको काम तीव्र पारिएको छ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने पर्वका लागि कमलपोखरी परिसरलाई सजाउने काममा स्थानीय श्रमिक र स्वयंसेवक खटिएका छन्। पोखरी वरिपरिका फलामे बारमा रङ लगाउनेदेखि बत्ती जडान गर्ने काम भइरहेको छ। व्यवस्थापनमा काठमाडौँ महानगरपालिका र वडा नम्बर १ ले सरसफाइ तथा टेन्टको सहयोग गरेका छन् भने बत्ती सजावटको व्यवस्था अग्रवाल भवनले गरेको छ।
यस वर्ष कमलपोखरीमा पाँच सयभन्दा बढी व्रतालुका लागि व्यवस्थित घाट बनाइएको छ। घाटमा नाम दर्ता र पूजाका लागि स्थान सुनिश्चित गर्ने व्यवस्था निःशुल्क गरिएको आयोजकले बताएका छन्। दर्ता भएका व्रतालुले कुपनको नम्बरअनुसार घाटमा बसेर पूजा गर्न पाउनेछन्।
आयोजकका अनुसार घाटको सङ्ख्याभन्दा बढी, करिब छ सय जनाले नाम टिपाएका छन्। केहीले दुई ठाउँमा नाम दर्ता गराउँदा व्यवस्थापनमा समस्या देखिएको उनीहरूको भनाइ छ। तर नाम दर्ता नगरी आउने व्रतालुलाई पनि पूजा गर्नबाट नरोकिने र सबैलाई मिलाएर व्यवस्था गरिने आयोजकले बताएका छन्।
कमलपोखरीमा सात वर्षदेखि छठ मनाउँदै आएका प्रशान्त कुमारले राजधानीमै सफा र भक्तिपूर्ण वातावरणमा पूजा गर्न पाउँदा सन्तुष्टि लागेको बताए। छठ व्यवस्थापनमा लामो समयदेखि स्वयंसेवकका रूपमा खटिएका जनकपुरका जितेन्द्र झाले चन्दा वा शुल्क नलिई व्रतालुलाई सहज बनाउन आफूहरू जुटेको बताए।
छठ पर्वले सरसफाइ, जल संरक्षण र सामाजिक सद्भावको सन्देश दिने आयोजकहरूको भनाइ छ। घाटमा जात वा धर्मका आधारमा भेदभाव नहुने र सबै समुदायका व्रतालु एकै ठाउँमा भेला भएर पूजा गर्ने उनीहरूले बताएका छन्। यस वर्ष छठ पर्व कात्तिक २९ गते परेको छ।





