३ मंसिर २०८३, बुधबार

बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति शुरु, ३ करोड ३५ लाख लागत

ड्रागन मिडिया सम्वाददाता

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा पर्ने बैसरी–रिसिनचौतारी सडक खण्डको स्तरोन्नति शुरु भएको छ। पूर्वाधार विकास कार्यालयले जैसीखोर–खहरेखोला–रिसिनचौतारी सडक योजनाअन्तर्गत सडक चौडा गर्ने, ग्रेड र घुम्ती सुधार्ने, नाली तथा पर्खाल बनाउने र ग्राभेल तथा ढलान गर्ने काम अघि बढाएको हो।

निर्माणका लागि कार्यालयले अङ्कित एन्ड जेनिशा साहना जेभीसँग तीन करोड ३५ लाख ६ हजार ४८० रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। गत साउन ४ गते भएको सम्झौताअनुसार काम २०८४ साउन ४ भित्र सम्पन्न गर्नुपर्नेछ।

कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेश उलकका अनुसार एक हजार ८०० मिटर सडक नालीसहित छ मिटर चौडा बनाइनेछ। त्यसमध्ये ६१० मिटरमा ढलान र एक हजार १९० मिटरमा ग्राभेल गरिनेछ। योजनामा ९९० घनमिटर ग्याबियन पर्खाल र एक हजार ६४९ घनमिटर मेसिनरी पर्खाल निर्माण पनि समावेश छ।

निर्माण कम्पनीका प्रतिनिधि शिव जिसीले पहिलो चरणमा एक हजार २०० मिटर सडक चौडा पार्ने काम पूरा भएको बताए। उनका अनुसार लक्ष्यअनुसार काम अघि बढाउन थप मजदुर र निर्माण सामग्री परिचालन गरिनेछ।

यो सडकले रघुगङ्गा गाउँपालिकाका वडा नम्बर २ र ३ लाई कालीगण्डकी करिडोरसँग जोड्छ। घुमाउनेताल–बैसरी खण्डको वैकल्पिक मार्गका रूपमा सडक विकास गर्ने र स्थानीयवासीको आवागमन सहज बनाउने उद्देश्यले योजना अघि बढाइएको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button