३ मंसिर २०८३, बुधबार

व्यास नगरपालिकाले साढे तीन महिनामा फोहोर बिक्रीबाट कमायो ९ लाख ४० हजार

ड्रागन मिडिया सम्वाददाता

तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १९ गतेसम्म बिक्रीयोग्य फोहोर बेचेर ९ लाख ४० हजार ४९४ रुपैयाँ आम्दानी गरेको छ। कागज, कार्टुन, फलाम, प्लास्टिक र सिसाजन्य सामग्री बिक्रीबाट उक्त रकम प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताए।

नगरपालिकाले गत आर्थिक वर्ष २०८२/८३ मा फोहोर बिक्रीबाट २७ लाख रुपैयाँ आम्दानी गरेको थियो। बिक्रीयोग्य फोहोर व्यवस्थापन र बिक्रीका लागि आर्थिक वर्ष २०८१/८२ मा बोलपत्र आह्वान गरिएको थियो। त्यसअनुसार गत आर्थिक वर्षको मूल्यमा १० प्रतिशत थप गरी व्यास–१ स्थित तनहुँ स्क्रेप सेन्टरलाई फोहोर बिक्रीको जिम्मा दिइएको छ।

घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याएर सङ्कलन गर्न थालेपछि व्यवस्थापन सहज भएको लम्सालले बताए। नगरपालिकाले दुवै प्रकारका फोहोर अलग-अलग सवारीसाधनमा सङ्कलन गर्दै आएको छ। टोल, वडा र विद्यालयमा फोहोर वर्गीकरणसम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन भइरहेको छ।

कुहिने फोहोर दुम्सीस्थित गौसंरक्षण केन्द्रमा व्यवस्थापन गरी बायोग्यास उत्पादनमा प्रयोग गरिन्छ। बजार क्षेत्रका वडा नम्बर २, ३ र ४ बाट दैनिक करिब ११ टन फोहोर सङ्कलन हुने गरेको नगरपालिकाले जनाएको छ।

दीर्घकालीन फोहोर व्यवस्थापनका लागि व्यास–१३ मा जग्गा खरिद गर्न आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित मन्त्रालयमा सिफारिस पठाइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए। तर निर्णय हुन नसक्दा स्थायी व्यवस्थापनको काम अघि बढाउन कठिनाइ भइरहेको उनले उल्लेख गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button