३ मंसिर २०८३, बुधबार

हुलाकी सडकले राप्तीपारिको पहुँच बढायो, नेपालगञ्ज आवागमन सहज

ड्रागन मिडिया सम्वाददाता

बाँकेमा हुलाकी सडक र यससँग जोडिएका मार्ग बनेपछि राप्ती सोनारी गाउँपालिकाका बैजापुर, बिनौना र फत्तेपुर तथा नरैनापुर क्षेत्रका बासिन्दालाई नेपालगञ्ज आउजाउ गर्न सहज भएको छ। स्थानीय अगुवा सोहनलाल यादवका अनुसार नरैनापुरबाट नेपालगञ्ज पुग्न अहिले करिब आधा घण्टा लाग्छ। “पहिले भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपर्थ्यो, अहिले आधा घण्टामै पुगिन्छ,” उनले भने।

बाँकेमा फत्तेपुरको कुण्डादेखि बैजापुरको नारायणपुरसम्म २१ किलोमिटर, नेपालगञ्ज–गुलरिया सडकखण्डमा २८ किलोमिटर र नेपालगञ्जको पुष्पलाल चोकदेखि पूर्वतर्फ १० किलोमिटर हुलाकी सडक निर्माण भएपछि ग्रामीण क्षेत्रको सडक पहुँच विस्तार भएको स्थानीयले बताएका छन्। हुलाकी सडकले बैजापुरदेखि नरैनापुरको सुइया बघौडासम्मका बस्तीलाई नेपालगञ्जसँग जोडेको छ।

राप्ती नदीपारिका बस्तीमा सडक बनेपछि आर्थिक तथा व्यावसायिक गतिविधि बढेको राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीले बताए। उनका अनुसार आवागमन र चहलपहल बढेसँगै घरेलु तथा साना उद्योग र व्यवसाय पनि फस्टाउन थालेका छन्।

सडक पहुँच सहज भएपछि भुवरभवानी मन्दिर, बाबा बर्फानी, बिनौनाको धुमैया उद्यान र नवनिर्मित राप्ती पुलमा घुमаха जाने आन्तरिक पर्यटकको सङ्ख्या बढेको चौधरीले बताए। राप्ती सोनारी–५, बिनौनास्थित भुवरभवानी माध्यमिक विद्यालयका प्राचार्य चेतबहादुर बिष्टले सडकसहितका पूर्वाधारले स्थानीयको आर्थिक तथा सामाजिक जीवनमा सकारात्मक प्रभाव पारेको बताए।

कुण्डादेखि नारायणपुर हुँदै अगैयामा पूर्व–पश्चिम राजमार्ग जोडिने मार्गले पनि सवारी आवागमन बढाएको स्थानीयको भनाइ छ। नेपालगञ्जबाट कोहलपुर हुँदै अगैया पुग्ने मुख्य राजमार्गभन्दा यो मार्ग छोटो पर्ने भएकाले सवारीसाधनले प्रयोग गर्न थालेका छन्। सडक र अन्य पूर्वाधार विस्तारले राप्ती सोनारी क्षेत्रको आवागमन र व्यवसायमा सुधार ल्याएको स्थानीय अगुवा जमानसिंह वलीले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button