मेदभेदेवद्वारा प्रतिबन्धविरुद्ध अन्तर्राष्ट्रिय कानुनी व्यवस्था प्रस्ताव

ड्रागन मिडिया समाचार कक्ष
मस्कोस्थित हाउस अफ युनियन्सको कोलम हलमा नोभेम्बर १६ मा “राष्ट्रहरूको स्वतन्त्रताका लागि” अन्तर्राष्ट्रिय आन्दोलनको महासभा सम्पन्न भएको छ। आयोजकका अनुसार कार्यक्रममा ७० भन्दा बढी देशका प्रतिनिधि सहभागी थिए।
रुसको सत्तारुढ दल युनाइटेड रसियाका अध्यक्ष तथा रुसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेवले महासभाको मुख्य प्रतिवेदन प्रस्तुत गरे। उनले नवऔपनिवेशिकताविरुद्ध “विश्व बहुमत”का देशहरू एकजुट हुनु समयसापेक्ष कदम भएको बताए।
मेदभेदेवले आर्थिक प्रतिबन्धलाई अन्तर्राष्ट्रिय स्तरमा मानवताविरुद्धको अपराधका रूपमा मान्यता दिनुपर्ने प्रस्ताव गरे। सबै प्रकारका प्रतिबन्ध, द्वितीयक प्रतिबन्धसमेतको प्रतिरोध गर्न अन्तर्राष्ट्रिय “ब्लकिङ स्ट्याच्युट” बनाउन तथा औपनिवेशिकता, नवऔपनिवेशिकता, क्षतिपूर्तिमूलक न्याय र निर्वाचन सार्वभौमिकताजस्ता अवधारणालाई कानुनी दस्तावेजमा समेट्नुपर्ने उनको भनाइ थियो।
महासभामा नेपालका तर्फबाट सांसद तथा नेपाली कम्युनिस्ट पार्टीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएका थिए। युनाइटेड रसियाको पहलमा सन् २०२४ फेब्रुअरीमा मस्कोमा स्थापना भएको आन्दोलनले नवऔपनिवेशिकताविरुद्ध काम गर्ने र राष्ट्रहरूबीच सहकार्य प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।





