मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पक्राउ

ड्रागन मिडिया सम्वाददाता
मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगीको अनुसन्धानका क्रममा पूर्वमुख्यसचिव एकनारायण अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको देशसञ्चारले जनाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अधिकारीलाई उद्धृत गर्दै प्रकाशित समाचारमा पक्राउको स्थान र समयबारे ब्युरोले औपचारिक जानकारी दिन बाँकी रहेको उल्लेख छ।
यसअघि काठमाडौँ जिल्ला अदालतले अर्यालविरुद्ध पक्राउ पुर्जी जारी गरेको सीआईबी प्रमुख उमा प्रसाद चतुर्वेदीले बताएका थिए। श्रमिकबाट गैरकानुनी रूपमा उठाइएको भनिएको रकम मलेसिया पठाउने निर्णयमा अर्यालको भूमिका रहेको आरोपबारे ब्युरोले अनुसन्धान गरिरहेको छ।
देशसञ्चारले प्रहरी श्रोतलाई उद्धृत गर्दै अर्याललाई भारतको कोलकातामा भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा नियन्त्रणमा लिइएको र नेपाल ल्याउने प्रक्रिया अघि बढेको जनाएको छ। स्थानान्तरणबारे पनि सीआईबीको औपचारिक पुष्टि आउन बाँकी छ।
सोही प्रकरणमा सीआईबीले बुधबार पूर्वश्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित छ जनालाई पक्राउ गरेको थियो। ब्युरोका अनुसार अनुसन्धानको दायरामा रहेको रकम करिब एक अर्ब ६९ करोड रुपैयाँ बराबर छ।





