अब नेपालकै नेसनल कार्ड ‘नेपाल पे कार्ड’ सञ्चालनमा

वर्षौंदेखि नेपालको आफ्नै राष्ट्रिय भुक्तानी स्विचको डोमेस्टिक कार्ड ल्याउने पहल सफल भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)ले सोमबारदेखि नेपाल पेमेन्ट स्विचअन्तर्गत ‘नेपाल पे कार्ड’ सञ्चालनमा ल्याएको छ । यो नेपालकै भुक्तानी कार्ड प्रणाली हो ।
एनसीएचएलले एनपिएस–नेसनल कार्ड स्विच र डोमेस्टिक कार्ड स्किम (नेपाल–पे कार्ड)को पूर्वाधार स्थापना र प्राविधिक रूपमा तयार गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त कार्डको औपचारक सुरुवात गर्नुभयो।
आगामी चैत २५ गते ५ वर्षे कार्यकाल सकिन लागेका गभर्नर अधिकारीले सेरेमोनियल नेपाल–पे कार्डबाट कन्ट्रोल इन्भाइरोमेन्टमा पस (पीओएस) र एटीएमबाट कारोबार गरी एनपिएसको तयार भएको पूर्वाधारको सार्वजनिक गर्न पाएकोमा एनसिएचएलप्रति आभार व्यक्त गर्नुभयो । नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम भएसँगै यसले डिजिटल भुक्तानी प्रणाली तथा डिजिटल पूर्वाधारमा विकास भएको दाबी गर्नुहुन्छ गभर्नर अधिकारी ।
यसभित्र रहेर डिजिटल भुक्तानीका थुप्रै काम हुने वातावरण बनेको छ । हालसम्म अन्तर्राष्ट्रिय कार्डको प्रयोगले राज्यलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लागत बढिरहेको अवस्थामा आफ्नै देशको स्विचअन्तर्गतको कार्ड मुलुकका लागि फलदाइ हुने गभर्नर अधिकारीको तर्क थियो । भारतमा डोमेस्टिक कार्ड रु–पे कार्ड लागू भएपछि करिब ६० प्रतिशत जनसंख्याले प्रयोग गरेका छन् ।
यसले राज्यको लागत कम गरेको छ । नेपालमा पनि नेसनल स्विचबाट बचत हुन्छ । पछिल्लो कारोबारको स्थिति हेर्दा १ महिनामा ६ खर्ब रुपैयाँको रिटेल भुक्तानी भएको छ । यसबाट कारोबार गर्दा सहज र लागत कम पर्न जान्छ । अझ एनसिएचएलले ५ सयसम्मको रिटेल भुक्तानीको मोडेल प्रयोग गरेर ल्याउँदै छ ।’
अन्नपूर्ण पोस्टका अनुसार स्वदेशकै कार्ड भएपछि अन्तर्राष्ट्रिय स्तरको कार्ड प्रयोगबापतको सेवा शुल्कमा बर्सेनि बाहिरिँदै आएको करोडौं रकम अब जोगिने भएको छ । साथमा बैंक तथा वित्तीय संस्था र ग्राहक दुवैलाई खर्च कम पर्न जाने र कारोबारलाई छिटो र सुरक्षित बनाउने उद्देश्य राखेको एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधान बताउनुहुन्छ।
नेपालले डिजिटल भुक्तानीको यो फड्को ऐतिहासिक भएको छ । बैंक तथा वित्तीय संस्थाहरूका ग्राहकको कारोबारलगायतको तथ्यांक पनि स्वदेशमै सुरक्षित हुने भएको छ । यसले भुक्तानी प्रणालीलाई आधुनिकीकरण गर्न र संसारभरीका करिब ९० राष्ट्रमा डोमेस्टिक कार्ड प्रयोग गरेकोमा नेपाल थपिएर ९१ औं मुलुक भएको जानकारी दिइएको छ ।
हालसम्म नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा प्रयोग हुने डेबिट, क्रेडिट र प्रिपेड कार्डहरू अन्तर्राष्ट्रिय संस्थाको लगानीमा सञ्चालित छन् । जसमा भिसा कार्ड, मास्टर कार्ड, युनियन–पे जस्ता अन्तर्राष्ट्रिय कार्डबाट सञ्चालित हुँदा सेवा शुल्कबापत नेपालबाट बर्सेनि औसत ८४ करोड ५४ लाख ५० हजार रुपैयाँ बराबरको रकम बिदेसिँदै आएको छ ।
नेपाल राष्ट्र बैंकको गत वर्षको तथ्यांकअनुसार भिसा कार्ड प्रयोग वापतको सेवा शुल्क मात्रै ६४ करोड २ लाख ४० हजार रुपैयाँ हाराहारीको रकम विदेशिएको थियो ।
अहिलेसम्म नेपालमा डेबिट कार्ड मात्रै १ करोड ३४ लाख ५७ हजार, क्रेडिट कार्ड ३ लाख ८ हजार र प्रिपेड कार्ड २ लाख २८ हजारको संख्यामा जारी भएको छ । उक्त सबै कार्ड अन्तर्राष्ट्रिय स्विचअन्तर्गतका कार्डहरू नेपालका बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेका छन् ।
राष्ट्र बैंकले लिएको नीतिले नेपाल डिजिटल भुक्तानीमा कोशेढुंगा सावित भएको एनसिएचएलका अध्यक्ष तथा केन्द्रिय बैंकका कार्यकारी निर्देशक विश्रुत थापा बताउनुहुन्छ ।





