भारत र चीन जोड्ने तमोर करिडोरले व्यावसायिक सम्भावना वृद्धि

भारत र चीन जोड्ने छोटो मार्ग तमोर करिडोरले व्यावसायिक सम्भावना बढाएको छ। तराईदेखि पहाड हुँदै हिमाली जिल्ला जोड्ने छोटो द्रुतमार्गका रुपमा निर्माण भइरहेको तमोर करिडोरले आर्थिक विकासको सम्भावना बढाएसँगै व्यावसायिक सम्भावना देखेर स्थानीय र बाहिरबाट आएर समेत व्यवसायीले लगानी गर्न थालेका छन् ।
दैनिक यात्रुको चाप हुने र व्यवसाय राम्रो हुने देखेर धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ का हरिप्रसाद ओझाले घर भाडामा लिई होटल सञ्चालन गरिरहेको बताउनुभयो। बसाइँसराइले उजाड बनेको चौबिसे गाउँपालिका–४ कुरुलेमा समेत सडक निर्माण भएपछि स्थानीयमा विकासको आशा पलाएको छ । स्थानीय उत्पादनले बजार पाएको छ ।
चौबिसे गाउँपालिका मात्र नभएर यो सडकले धेरैलाई सुविधा दिने र यहाँ उत्पादित वस्तु अन्तर्राष्ट्रिय बजारमा पुर्याउन ठूलो योगदान दिने अपेक्षा रहेको चौबिसे गाउँपालिका–४ का वडा सदस्य कोमल बरालले बताउनुभयो । चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङले भारत र चीनजस्ता व्यापारिक र सामरिक दृष्टिले सम्पन्न राष्ट्र जोड्ने छोटो मार्ग भएकोले अन्तर्राष्ट्रिय पारवहनको क्षेत्रमा ठूलो सम्भावना रहेको बताउनुभयो । पालिकाले करिडोर छुने गरी तीनवटा शाखा सडक स्तरोन्नति गरिरहेको उहाँले जानकारी दिनुभयो। करिडोर निर्माणपछि चौबिसेका जनताको जीवनस्तर उकासिने अपेक्षा छ ।
दैनिक तीन सयभन्दा बढी साना–ठूला सवारीसाधन आवागमन गर्न थालेसँगै यहाँको शान्ति सुरक्षाका लागि गत जेठदेखि प्रहरी पोष्ट समेत राखिएको छ । पूर्वी पहाड र संघीय राजधानी काठमाडौंमात्र नभएर भारत र चीनका सिमावर्ती क्षेत्रसम्म जोड्ने द्रुत मार्गका रुपमा स्थापित गर्न सरकारले यो सडकको अवधारणा ल्याएको थियो ।
कारोबार अनलाइनका अनुसार तमोर करिडोर अन्तर्गत मूलघाट–गणेशचोक सडकको ६२ प्रतिशत काम सकिएको छ । चतरादेखि सुभाङ खोलासम्मको १५६ किलोमिटर सडकमध्ये धनकुटाको मूलघाटदेखि पाँचथरको गणेशचोकसम्म ११२ किलोमिटरको ६२ प्रतिशत भौतिक प्रगति भएको हो ।
सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको १ सय ५६ किलोमिटरमध्ये १ सय १२ किलोमिटर सडक कालोपत्रेका लागि २०७९ कात्तिकमा चार अर्ब १६ करोडमा सम्झौता भएको थियो । २०८२ कात्तिकसम्ममा निर्माण सम्पन्न गर्ने गरी मूलघाटदेखि हाङठुवा ६६ किलोमिटरसम्म रौताहा क्षमादेवी जेभीसँग २ अर्ब ७२ करोडमा र बाँकी खण्ड एफएक्स कम्पनीसँग १ अर्ब ४३ करोडमा ठेक्का सम्झैता भएको हो ।
दुई प्याकेजमा भएको ठेक्का सम्झौताअनुसार काम भए पनि निर्माण कम्पनीलाई रकम भुक्तानी गर्न नसक्दा निर्माण कार्य सोचेअनुसार अगाडि बढ्न नसकेको तमोर करिडोर, चतरा–मूलघाट–सुभाङखोला सडक आयोजनाका प्रमुख प्रदिपमणि निरौलाले जानकारी दिनुभयो ।
ग्रावेल गर्ने, बेस हाल्ने र पिच गर्ने बाहेक अन्य काम करिब सम्पन्न हुन लागेको भए पनि सम्झौताअनुसार रकम भुक्तानी दिन नसक्दा निर्माण कम्पनीले कामलाई गति दिन नसकेको प्रमुख निरौलाको भनाइ थियो ।
‘अहिले नै भुक्तानी गर्नुपर्ने करिब २२ करोडको बिल अड्किएको छ । रकम भुक्तानी भइरहेको अवस्थामा निर्माण कम्पनीले एकैदिन ७ सय मिटरसम्म कालोपत्रे गरेको हो । सरकारले पर्याप्त बजेट उपलब्ध गराए काम छिटो हुन्छ,’ प्रमुख निरौलाले भन्नुभयो । हालसम्म सडकको ३० किलोमिटर कालोपत्रे भएको आयोजनाले जनाएको छ । यो सडक निर्माण भएपछि ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटा जिल्लाका नागरिकलाई तराई जिल्ला झर्ने दूरी छोटो हुन्छ ।





