२२ आश्विन २०८३, बिहीबार

इलाममा भेटियो नयाँ प्रजातिको चरा

पूर्वी नेपालको इलाममा नयाँ प्रजातिको चरा फेला परेको छ। इलाम जिल्लास्थित समुद्र सतहबाट तीन सय मिटर उचाइमा नयाँ प्रजातिको चरा ‘बैजनी कोइली’ [भाइलेट कुक्को] अभिलेख गरिएको गोरखापत्र अनलाइनले लेखेको छ।
इलामको सुखानी वन क्षेत्रबाट नेपालको लागि नयाँ प्रजातिको चरा बैजनी कोइली चरा अभिलेख गरिएको नेपाल वर्ड रेकर्ड कमिटीका संयोजक डाक्टर तुलसी सुवेदीले बताउनुभयो। उहाँका अनुसार नेपालका चराविद् राजेन्द्र गुरुङको टोलीले चरा अवलोकनको क्रममा गत चैत २५ गते पहिलो पटक बिहान ११ बजेर बिस मिनेटको समयमा भाले भाइलेट कुक्को देख्नुभएको थियो। चैत २५ गते नै पटक पटक एक रुखबाट अर्को रुखमा उड्दै बस्दै गरेको अवस्थामा चराको अवलोकन गरिएको र सोही दिन चराको अभिलेख गरिएको चराविद् गुरुङको टोलीले जनाएको छ।
समुद्र सतहबाट ३०० मिटर उचाइमा नेपालको लागि नयाँ प्रजातिको बैजनी कोइली चरा अभिलेख गरिएको नेपाल वर्ड रेकर्ड कमिटीका संयोजक डाक्टर तुलसी सुवेदीले बताउनुभयो। राजेन्द्र गुरुङको साथमा रहेका मलेसियाली नागरिक रगर रबर्ट रजँ र नेपाली चराविद् अनिश तिम्सिनाले खोला छेउछाउका रुखहरूमा करिब २० मिटरको दूरीमा अवलोकन गर्नुभएको र मलेसियाली नागरिक अलेक्जेण्डर जोन आङ याङले चराको आवाज पहिचान गरी पहिल्याउनुभएको थियो।
नेपाल चरा गणनाका राष्ट्रिय संयोजक लक्ष्मण पौडेलका अनुसार चराको बारेमा प्राप्त विवरण अध्ययन अनुसन्धान गरी राष्ट्रिय अन्तर्राष्ट्रिय पन्छिविद्हरुको राय सुझाव प्राप्त भएपछि बैजनी कोइलीको पहिलो पटक अभिलेख गरिएको हो।
कुकुलीफोर्मस वर्गको कुकुलिडी परिवारमा पर्ने यो चरा भुटान, फिलिपिन्स, सिङ्गापुर, बङ्गलादेश, ब्रुनाई, चिन, भारत, इन्डोनेसिया, लाओस्, मलेसिया, म्यानमार, थाइल्यान्ड भियतनाममा आवासीय रूपमा पाइने र यी चराहरुले भुटान, फिलिपिन्स, सिङ्गापुरमा प्रजनन गर्ने डाक्टर सुवेदीले बताउनुभयो। विश्वमा यस चराको दुई उपप्रजाति सि एक्स जेन्थ्रोराइन्चस र सि एक्स एमिथाइस्टिनस अभिलेख भएका छन्। नेपालमा अभिलेख भएको चरा सि एक्स जेन्थ्रोराइन्चस उपप्रजातिमा पर्ने भाइलेट कुक्को भएको उहाँले बताउनुभयो। पहिलो पटक इलाममा भेटिएको भाइलेट कुक्को चरा पुष्टि गरी नेपाली नाम बैजनी कोइली राखिएको नेपाल वर्ड रेकर्ड कमिटीले जनाएको छ।
नेपालमा १५ प्रजातिका कुकुलीफोर्मस वर्गका चराहरू पाइँदै आएकोमा बैजनी कोइली थपिएसँगै १६ प्रजाति भएको संयोजक पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार जुरे कोइली, ठुलो जुरे कोइली, कोहो कोइली, हरित कोइली, धर्के खैरो कोइली, पेटकैले कोइली, फुस्रो साने कोइली, चिबे कोइली, बीउकुहियो, गोलसिमल, पपिहा, काफल कोइली, कुक्कु कोइली, पूर्वीय कोइली, सानो कोइली प्रजातिका चराहरू पाइँदै आएको थियो।
नेपालको अभिलेखमा थप एउटा प्रजातिको सङ्ख्या थप भएको छ। नयाँ प्रजातिको चरा थपिएसँगै नेपालमा चरा प्रजातिको सङ्ख्या ८ सय ९९ पुगेको नेपाल वर्ड रेकर्ड कमिटीले जनाएको छ।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button