२१ आश्विन २०८३, बुधबार

सडक भासिएपछि नेपाल र चीनबीचको तातोपानी नाका सडक खण्ड ठप्प

बाह्रबिसे–कोदारी (२६ किलोमिटर) सडक खण्ड अन्तर्गत भोटेकोशी गाउँपालिका –२ कोप्लाङ खण्ड १० फिट भासिएपछि चार दिनसम्म उक्त सडक ठप्प भएको छ। बुधबारदेखिको सामान्य वर्षाले तातोपानी नाका जोड्ने कोप्लाङखण्ड ५ फिट भासिएको छ। १५ फिटको उक्त सडक खण्डमा सडक डिभिजन कार्यालयले माटो र ढुङ्गा हालेर मर्मतसुधार गर्ने प्रयास गरिए पनि मालबाहक गाडी, यात्रुबाहक बस र अन्य सवारी साधान सुचारु हुन नसकेको गोरखापत्र अनलाइनले लखेको छ।
सडक भासिँदा तातोपानी भन्सार कार्यालयबाट भन्सार भई शुक्रबार बेलुकी ९ बजे राजधानी जाने क्रममा उक्त सडक खण्डबाट एक विद्युतीय कार भोटेकोशी नदीमा खसेको इलाका प्रहरी कार्यालय लार्चाका प्रहरी सहायक निरीक्षक नेत्रबहादुर काफ्लेले जानकारी दिनुभयो। कार चालक दावा तामाङको धुलिखेल अस्पतालमा अपचार भइरहेको छ।
सडक भासिएपछि भन्सारमा जाँचपास भई राजधानी लैजान लागिएको पाँचसय विद्युतीय सवारी साधान भन्सार याडमै थन्किनुका साथै करोडौं मूल्यका सामग्री बोकेका सयौं मालबाहक कन्टेनर बाटोमै रोकिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिनुभयो।
ठुला भारका मालबाहक गाडी, यात्रुबाहक बस, विद्युतीय गाडी उक्त खण्डबाट आउजाउ हुन नसक्दा व्यापारी व्यवसायी चिन्तित हुन थालेको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उमेश प्रधानले बताउनुभयो। सडक मर्मत गरेर सञ्चालन गराउने कार्यमा सडक डिभिजन कार्यालय, वडा कार्यालय लागिरहे पनि सडक भासिनेक्रम बढदै गएको भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो। चीनको तिब्बत जोड्ने सीमा सडक र नाका ठप्प भएको बताइएको छ। सडक भासिदै गएपछि थप जोखिम निम्तिन सक्ने अध्यक्ष श्रेष्ठले गुनासो गर्नुभयो।
उक्त सडक खण्ड बाहेक अन्य कुनै पनि वैकल्पिक मार्ग नहुँदा नाकामै मालबाहक गाडी, विद्युतीय गाडी रोकिएका छन्। २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प र भोटेकोशी नदीको बाढीले कोप्लाङ खण्ड जीर्ण बनाएको थियो। त्यसपछि मर्मतसुधार नहुदाँ उक्त खण्ड १५ फिट चौडाइमा सीमित थियो।
साँघुरो सडकमा जोखिमपूर्ण आउजाउ गरिरहेका कन्टेनर र यात्रुबाहक बस सडक भासिँदा ठप्प भएका छन्। सामान्य वर्षाले क्षति गरिरहेको उक्त खण्ड बर्खायाममा कन्तबिजोग हुने स्थानीयको चिन्ता छ।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button