२१ आश्विन २०८३, बुधबार

सवा अर्बको जडीबुटी निर्यात

नेपालगन्ज भन्सार हुँदै चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा करिब एक अर्ब २५ करोड रुपियाँ बराबरको जडीबुटी निकासी भएको छ। यो तथ्याङ्क चालु आवमा गत आव २०८०/८१ को भन्दा २४ करोड रुपियाँले बढी रहेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ।

नेपालगन्ज नाका हुँदै निकासी हुने वस्तुमा सबैभन्दा बढी जडीबुटी रहेको छ। नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले गत आव २०८०/८१ को सोही अवधिमा एक अर्ब एक करोड ४९ लाख तीन हजार रुपियाँ बराबरको जडीबुटी निर्यात भएकोमा चालु आवमा एक अर्ब २४ करोड ७४ लाख १७ हजार भएको बताउनुभयो।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आवको जेठ मसान्तसम्ममा ७५ करोड ८१ लाख ५२ हजारका विभिन्न जडीबुटी, २० करोड ५७ लाख ३५ हजारको तार्पिनको तेल, १८ करोड ८५ लाख ७६ हजारको इसेन्सियल आयल र नौ करोड ४९ लाख ५४ हजार रुपियाँको रिट्ठा गरेर एक अर्ब २४ करोड ७४ लाख १७ हजार रुपियाँको जडीबुटी निर्यात भएको हो।

गत आवको सोही अवधिमा ७० करोड ३७ लाख ३८ हजार रुपियाँको विभिन्न जडीबुटी, नौ करोड ९६ लाख ९७ हजारको तार्पिनको तेल, नौ करोड ८९ लाख ४८ हजारको इसेन्सियल आयल र नौ करोड ९१ लाख १० हजार रुपियाँ बराबरको रिट्ठा निर्यात भएको गोरखापत्र अनलाइनले लेखेको छ।

भन्सार कार्यालयका अनुसार यो नाकाबाट बढी निर्यात हुने अन्य वस्तुमा खोटो रोजिन, खयर कत्था, प्लाइउड, वनस्पतिका सार, शिलाजित, अदुवा, विभिन्न मसला र बहुमूल्य पत्थर छन्।

नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क शर्माले नेपालगन्ज नाका हुँदै निकासी हुने प्रमुख १० वस्तुको सूचीमा एक नम्बरमा जडीबुटी रहेको र यसको निकासी क्रमशः बढ्दै गएको बताउनुभयो। उहाँका अनुसार यहाँको जडीबुटी मुख्य रूपले भारतमा र त्यसपछि तेस्रो मुलुकमा जाने गरेको छ।

जडीबुटी व्यवसायी सङ्घका पूर्वअध्यक्ष मोहम्मद याकुव अन्सारीले निर्यात व्यापारको मुख्य हिस्सा रहेको जडीबुटीको निर्यात वृद्धि गर्न नीतिगत समस्या समाधानका लागि सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button