पूर्वप्रम खनालको चीन भ्रमण र नेपाल-चीन सम्बन्ध

बेजिङ/ पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीनको पाँच दिने भ्रमण सफलता साथ सम्पन्न गर्नुभएको छ। उहाँले हेनान प्रान्तको तीन दिने भ्रमण पूरा गरी बुधबार बेइजिङ पुग्नु भएको थियो। बिहीबार, चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले आयोजना गरेको “विश्व सभ्यता संवाद” को तेस्रो पूर्ण सत्रलाई उहाँले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नु भएको थियो। यो सत्र “विश्व शान्ति र विकासका लागि मानव सभ्यताको विविधताको रक्षा” शीर्षकमा आयोजित भएको थियो। जसमा १४० देशका ६०० भन्दा बढी प्रतिनिधिहरू सहभागी भएका थिए। बिहीबार बेलुकी उहाँले चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ जियानचाओसँग भेटी नेपाल-चीन सम्बन्ध, दुई दलबीचको सहयोग र भविष्यका साझा परियोजनाहरूमा छलफल गर्नु भएको थियो। उहाँले विभिन्न देशका पूर्वराष्ट्राध्यक्ष र प्रधानमन्त्रीहरूसँग पनि भेट गर्नु भएको थियो। शुक्रबार उहाँले छैटौँ उपसत्रमा प्रमुख वक्ताको रूपमा बोलेर स्वदेश फर्कने कार्यक्रम रहेको छ।

खनालले आफ्नो भाषणमा सभ्यताहरूको विविधतालाई “मानवताको विशाल फूलबारीका फूलहरू” बताउँदै पश्चिमी “सभ्यताहरूको द्वन्द्व” सिद्धान्तलाई विभाजनकारी ठहर्याउनु भयो। उहाँले जोड दिनुभयाे कि २१औँ शताब्दीमा द्वन्द्व होइन संवाद, प्रभुत्व होइन साझेदारी चाहिन्छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको “विश्व सभ्यता पहल” लाई ऐतिहासिक, दूरदर्शी र मानवतावादी पहल बताउँदै उहाँले सभ्यताहरूबीच समानता र आपसी सिकाइको आह्वान गर्छ, भन्नुभयो।

नेपालको प्राचीन योगदान प्रस्तुत गर्दै उहाँले नेपाली भूमिमा १ करोड २० लाख वर्ष पुरानो “रामापिथेकस” को अवशेष, बुद्धको जन्मस्थल लुम्बिनी, र शान्ति-अहिंसाको बौद्ध दर्शनले विश्वलाई दिएको योगदानमा जोड दिनुभयाे। ऐतिहासिक सम्बन्धका उदाहरणहरूमा पाँचौँ शताब्दीका भिक्षु बुद्धभद्रले चीनमा बौद्ध ग्रन्थ अनुवाद गरेको, सातौँ शताब्दीमा राजकुमारी भृकुटीको तिब्बत विवाह, र १३औँ शताब्दीमा वास्तुकार अरनिकोले बेइजिङको श्वेत चैत्य निर्माण गरेको घटनालाई उल्लेख गर्नुभएकाे थियो।

समकालीन सम्बन्ध प्रस्ट्याउँदै उहाँले नेपाल-चीनलाई “घनिष्ठतम मित्र” र “विश्वसनीय सहयोगी” बताउनुभयाे। नेपालले ताइवान र तिब्बत चीनको अविभाज्य अङ्ग मान्ने एक-चीन नीतिमा अडिग रहने, नेपाली भूमि चीनविरुद्ध प्रयोग नहुने, र दुई देशबीचको सीमा “शान्तिको सीमा” हुने बताउनु भएको थियो। अन्त्यमा उहाँले सबै राष्ट्रलाई सभ्यताको विविधता सम्मान गर्ने, संवाद बढाउने, र शान्ति, विकास, समानता र स्वतन्त्रतामा आधारित विश्व निर्माण गर्न आह्वान गर्नु भएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button