क्याम्बोडिया र थाईल्यान्डको द्वन्द्व गराउने शिव मन्दिर

बीबीसी । थाईल्यान्ड-क्याम्बोडिया सीमामा जारी पछिल्लो सैन्य झडपमा ३० जना भन्दा धेरैले ज्यान गुमाइसकेका छन्। बिहीवार बिहानदेखि अचानक चर्किएको द्वन्द्वमा दुवै देशका सैनिकहरूले शक्तिशाली अस्त्र प्रयोग गरिरहेका छन्।

दुई देशबीच विद्यमान शताब्दी पुरानो सीमा विवादसँगै पछिल्लो झडपको केन्द्रमा एउटा प्राचीन शिव मन्दिर पनि छ। थाईल्यान्ड र क्याम्बोडिया दुवै उल्लेख्य हिन्दू जनसङ्ख्या रहेका देशहरू हुन्। इतिहासमा फ्रान्सले क्याम्बोडियामा आफ्नो कब्जा जमाएपछि सीमा निर्धारण गर्दाखेरि देखि नै दुई देशबीच सीमा विवाद उत्पन्न भएको थियो।

सन् २००८ मा क्याम्बोडियाले उक्त विवादित क्षेत्रमा अवस्थित ११ औँ शताब्दीको मन्दिरलाई यूनेस्कोको विश्व सम्पदा स्थलको सूचीमा दर्ता गर्ने प्रयास गरेपछि सीमा क्षेत्रमा तनावपूर्ण स्थिति सिर्जना भएको थियो। क्याम्बोडियाको उक्त कदमको थाईल्यान्डले कडा विरोध गर्‍यो। त्यसपछि दुई देशबीच कैयौँ झडपहरू भए, जसमा सैनिकहरूसँगै सर्वसाधारणले पनि ज्यान गुमाए।

गएको मे महिनामा भएको एउटा भिडन्तमा क्याम्बोडियाका एक सैनिकको मृत्यु भएपछि बढेको दुई पक्षबीचको तनावले एक दशकभन्दा लामो समयपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध सबैभन्दा तल्लो बिन्दुमा पुगेको छ।

पछिल्ला दुई महिनायता दुवै देशले एक अर्कामाथि सीमा वारपारमा प्रतिबन्ध लगाएका छन्। क्याम्बोडियाले थाईल्यान्डबाट फलफूल र तरकारी आयातमा प्रतिबन्ध लगाएको छ। उसले थाईल्यान्डबाट आयात गर्दै आएको बिजुली र इन्टरनेट पनि खरिद गर्न छोडेको छ। पछिल्ला केही सातायता दुवै देशले सीमा क्षेत्रमा सेनाको उपस्थिति बढाएका छन्।

मन्दिरको इतिहासबारे यूनेस्कोको अभिलेख

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन यूनेस्कोका अनुसार क्याम्बोडियाको मैदानमा रहेको उच्च पठारको किनारमा अवस्थित प्रेह विहेयर मन्दिर भगवान् शिवमा समर्पित मन्दिर हो। यो मन्दिरमा कैयौँ धार्मिक संरचनाहरू छन्।

यसको निर्माण मुख्य गरी ११ औँ शताब्दीमा भएको थियो। यसको जटिल इतिहास नवौँ शताब्दीसम्म जोडिएको यूनेस्कोले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ। त्यसबेला यहाँ एउटा तपस्याका लागि आश्रम स्थापना गरिएको थियो। दुर्गम स्थानमा अवस्थित यो ठाउँको राम्रोसँग संरक्षण गरिएको यूनेस्कोले जनाएको छ।

यो शिव मन्दिर उत्कृष्ट वास्तुकलाको नमुना पनि हो। मन्दिरको निर्माण कुँदिएका ढुङ्गाहरूबाट गरिएको र त्यहाँको प्राकृतिक वातावरणलाई दक्खल नपुर्‍याएको चर्चा यूनेस्कोले गरेको छ।

थाई आक्रमणमा मन्दिरमा क्षति पुगेको क्याम्बोडियाको आरोप

क्याम्बोडियाले उक्त मन्दिरबाट करिब ३०० मिटर नजिकै बिहीवार थाई एफ-१६ लडाकु विमानबाट तीन वटा बम खसालिएको दाबी गरेको छ। जसबाट मन्दिर र वरपरका संरक्षित क्षेत्रहरूमा गम्भीर क्षति पुगेको र १९५४ को हेग महासन्धिको उल्लङ्घन भएको आरोप क्याम्बोडियाको छ।

थाईल्याण्डले भने शिव मन्दिरको वरपरको क्षेत्र र संरचनामा क्षति पुगेको आरोपलाई अस्वीकार गरेको छ। एक विज्ञप्तिमा थाईल्यान्डले मन्दिर नजिकै कुनै पनि हमला नभएको र आफ्नो प्रहारको निशाना मन्दिरबाट करिब दुई किलोमिटर टाढा रहेको दाबी गरेको छ। थाई विज्ञप्तिमा झडप स्थलबाट मन्दिरका संरचनाहरूसम्म गोला वा छर्राहरू पुग्ने वा उल्लेखनीय क्षति हुने सम्भावना कम भएको दाबी गरिएको छ।

मन्दिरको विवाद अन्तर्राष्ट्रिय अदालतसम्म

अन्तर्राष्ट्रिय अदालतले १९६२ मा सो मन्दिर विवादबारे दीर्घप्रतीक्षित फैसला सुनाएको थियो। क्याम्बोडियाले अन्तर्राष्ट्रिय अदालतमा थाईल्यान्डले मन्दिरको भग्नावशेषले घेरिएको आफ्नो भूभागको एक भाग कब्जा गरेको उजुरी गरेको थियो। यो ठाउँ क्याम्बोडियाली नागरिकहरूको धर्म र आस्थाको केन्द्र रहेको बताइन्छ।

क्याम्बोडियाले अन्तर्राष्ट्रिय अदालतलाई यस मन्दिरको अधिकारको बारेमा फैसला गर्न र थाईल्यान्डले १९५४ देखि त्यहाँ तैनाथ गरेका आफ्ना सेना हटाउन आदेश दिन माग गरेको थियो। थाईल्यान्डले अदालतको क्षेत्राधिकारमा उक्त विषय नपर्ने दाबी गरे पनि अदालतले १९६१ मा थाईल्यान्डको दाबी अस्वीकार गर्‍यो।

अन्ततः सन् १९६२ को जुन १५ मा अन्तिम फैसला सुनाउँदै अदालतले फ्रान्स र थाईल्यान्डबीच १९०४मा भएको सन्धिमा विवादित क्षेत्रलाई वाटरशेड लाइन अनुसार सीमाङ्कन गरिएको र संयुक्त सीमाङ्कन आयोगद्वारा तयार पारिएको नक्सामा मन्दिरलाई क्याम्बोडियाको भूभाग भित्र देखाइएको उल्लेख गरेको थियो।

थाईल्यान्डले उक्त नक्सा आफ्नो देशले कहिल्यै स्वीकार नगरेको र स्वीकार गर्नु बाध्यकारी नभएको तर्क गर्‍यो। यद्यपि, अदालतले थाईल्यान्डले उक्त नक्सा स्वीकार गरेको र मन्दिर क्याम्बोडियाली क्षेत्र भित्र अवस्थित रहेको निष्कर्ष निकालेको थियो। अदालतले थाईल्यान्डलाई त्यहाँ तैनाथ सबै सैनिक वा प्रहरी बल हटाउन आदेश दिँदै १९५४ पछि मन्दिरबाट हटाइएका सबै वस्तुहरू क्याम्बोडियालाई फिर्ता दिन भनेको थियो।

दुई छिमेकीको द्वन्द्वले विश्व चिन्तित

संयुक्त राज्य अमेरिकाले ‘शत्रुता तत्काल अन्त्य गर्न, नागरिकहरूको सुरक्षा गर्न र शान्तिपूर्ण रूपमा द्वन्द्व समाधान गर्न’ दुवै देशलाई आह्वान गरेको छ। ‘थाईल्यान्ड-क्याम्बोडिया सीमामा हिंसा बढेकोमा हामी निकै चिन्तित छौँ र सर्वसाधारणको हताहत भएका विवरणबाट दुःखी छौँ,’ विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले नियमित मिडिया ब्रीफिङमा भनेका छन्।

क्याम्बोडिया र थाईल्यान्ड दुवै देशसँग राजनीतिक र रणनीतिक सम्बन्ध रहेको चीनले द्वन्द्वका कारण आफूलाई ‘गहिरो चिन्ता’ भएको उल्लेख गरेको छ। चीनले वार्ता र परामर्श मार्फत् दुवै पक्षले समस्या समाधान गर्ने आशा पनि व्यक्त गरेको छ। अस्ट्रेलिया, युरोपेली सङ्घ र फ्रान्सले दुवै देशलाई शान्ति कायम गर्न अपील गरेका छन्।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button