चिनियाँ कम्पनीले नेपालमा मासु उत्पादन तथा प्रशोधनका लागि लगानी गर्दै

मासु उत्पादन तथा प्रशोधनका लागि २७ अर्ब रूपैयाँभन्दा बढी लगानी हुने भएको छ। राँगा तथा भैंसीपालन, चरन क्षेत्र विस्तार, मासु र सहायक वस्तुहरूको उत्पादनका लागि यस्तो लगानी गरिने भएको हो। यस अन्तर्गत चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्न उद्योग विभागबाट स्वीकृति पाएको छ।
विभागले साउन ८ गते यस कम्पनीलाई २० अर्ब रूपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) स्वीकृति दिएको हो। यो स्वीकृतिसँगै नेपालमा शतप्रतिशत विदेशी लगानीमा स्थापना हुन लागेको यो मासु प्रशोधन उद्योग अहिलेका लागि सबभन्दा ठूलो मानिएको छ।
उद्योगले वार्षिक दुई लाख मेट्रिक टन मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन (छाला, भित्री अंग, टाउको आदि) उत्पादन गर्ने सेतोपाटीले लेखेको छ।
यो उद्योग सिन्धुलीको मरिण गाउँपालिका–४ मा एक सय बिघा क्षेत्रफलमा फैलिनेछ। पूर्ण क्षमतामा सञ्चालनमा आएपछि यस उद्योगले पाँच हजार एक सय ५६ जनालाई रोजगारी दिनेछ।कम्पनीले १० देखि २० महिनाभित्र निर्माण सुरू गर्ने प्रतिबद्धता जनाएको छ। यो प्रतिबद्धतासँगै कम्पनीले दुई वर्षभित्र उद्योग सञ्चालनमा ल्याई मासु निर्यात थाल्ने तयारी गरेको जनाएको छ।
छेन्दु जियान कम्पनीले कति समयभित्र कति लगानी भित्र्याउने भन्ने तालिका पनि पेस गरेको छ। तालिका अनुसार पहिलो वर्षभित्र ६ अर्ब, दोस्रो वर्षभित्र थप १० अर्ब र तेस्रो वर्षभित्र थप ४ अर्ब रूपैयाँ लगानी भित्र्याइनेछ।
यही काममा साझेदारी गर्न नेपाली निजी कम्पनी हिमालयन फुड इन्टरनेसनल प्राइभेट लिमिटेडले पनि थप ७ अर्ब रूपैयाँ लगानी गर्ने जनाएको छ। यो लगानीमा भने बैंक ऋण र स्वपुँजीबाट जुटाउने जनाएको छ। अहिले बैंकहरूसँग छलफल भइरहेको कम्पनीले जनाएको छ।
सुरूमा अलग संरचनाबाट स्थापना हुने भए पनि प्रारम्भिक चरणमा दुवै कम्पनीको कुल लगानी २७ अर्ब रूपैयाँ पुग्नेछ।
यी दुई कम्पनी एउटै कार्ययोजना र परियोजनामा साझेदारीका रूपमा सहकार्य गर्दैछन्। तर हिमालय नेपाली कम्पनी भएकाले उसले विदेशी लगानी अनुमतिमा छेन्दुसँग प्रत्यक्ष साझेदारी गर्नुभन्दा छुट्टै कम्पनीमार्फत काम गर्ने रणनीति लिएको हो।
छेन्दु जियानले कारखाना निर्माण गर्ने, मासु उत्पादन र किसान व्यवस्थापन गर्ने, जग्गा प्राप्त गर्ने, घाँस खेती गर्ने, र भैंसी पाल्ने जस्ता सम्पूर्ण उत्पादन चक्र सम्हाल्नेछ। हिमालयन फुडले छेन्दु जियानले उत्पादन गरेको मासु निर्यात गर्नेछ। किसानका लागि आवश्यक परेमा कोष जुटाउने काममा पनि सहयोग गर्नेछ।
यो सहकार्य सुरु हुनुअघि नेपालबाट मासु निर्यात सम्भव हुने देखिएपछि धेरै चिनियाँ कम्पनीहरूले सहकार्यको प्रस्ताव गरेका थिए। तर हिमालयले उत्पादन चक्रदेखि निर्यातसम्मको जिम्मा सम्हाल्ने खालको साझेदारी खोजेको थियो।
चीन हाल विश्वमै सबैभन्दा धेरै मासु खपत गर्ने देश हो। चीनले अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिलजस्ता टाढाका मुलुकहरूबाट मासु आयात गरिरहेको अवस्थामा नेपाल भौगोलिक रूपमा नजिक र लागतमा पनि सस्तो पर्ने भएकाले लगानीको सम्भावना देखिएको हो।
CGTN





