भारतको विस्तारवादी सोच र छिमेकीहरूप्रतिको धार्मिक पूर्वाग्रह

# मुना चन्द
आजभोलि भारतीय मिडियामा देखिएका समाचारहरू केवल संयोग मात्र होइनन्, ती समाचारहरू भारतको गहिरो रणनीतिक सोच, जनमानसको मनोविज्ञान र छिमेकीहरूप्रतिको दुराग्रही दृष्टिकोणको स्पष्ट झल्को हुन्। भारतीय मिडियाको मूल प्रवृत्ति केवल आन्तरिक मुद्दामा केन्द्रित छैन, बरु छिमेकी स-साना राष्ट्रहरूमा पनि आफ्नो विचार, दृष्टिकोण र दबाबलाई स्थापित गर्न चाहन्छ। यथार्थमा भारतको सत्तामा जुनसुकै सरकार आए पनि, चाहे त्यो कांग्रस होस् वा भारतीय जनता पार्टी (भाजपा), छिमेकी राष्ट्रप्रतिको दृष्टिकोणमा खासै परिवर्तन देखिंदैन। सत्ताको नेतृत्वले हिन्दु र बौद्ध राष्ट्रहरूको स्वतन्त्र अस्तित्वलाई स्विकार्ने होइन, तिनीहरूलाई भारतमा मिसाएर एकीकृत भारत निर्माण गर्ने मानसिकता राखेको देखिन्छ।
भारत आफैँ पौने छ सय ससाना राज्यहरूको चिहानमाथि बनेको राष्ट्र हो। ब्रिटिश साम्राज्य पछि स्वतन्त्र बनेको भारतले, विशेषगरी हिन्दु र बौद्ध परम्परा भएका थुप्रै ससाना देशलाई बलात भारतमा समाहित गर्यो। सिक्किम, त्रिपुरा, मणिपुर, हैदराबाद, गोवा लगायत दर्जनौं स्वतन्त्र र अर्ध-स्वतन्त्र राज्यहरू भारतको सैनिक हस्तक्षेपद्वारा भारतमा मिसाइएका थिए। तर, यही भारतले मुस्लिम बहुल राज्यहरू विशेषगरी काश्मिर, हैदराबाद र जूनागढमा भने जनमत संग्रहको कुरा गर्यो, पाकिस्तान र बंगलादेशजस्ता मुस्लिम देशहरूको स्वतन्त्र अस्तित्वलाई सहज स्वीकार गर्यो।
यो भेदभावपूर्ण व्यवहार केवल रणनीतिक नभई सांस्कृतिक, धार्मिक मानसिकताको उपज पनि हो। भारतले बौद्ध तथा हिन्दु राष्ट्रहरूप्रति कुनै किसिमको सहिष्णुता देखाएको छैन। सिक्किमको मिसावट तात्कालीन भारतीय विस्तारवादी मानसिकताको ज्वलन्त उदाहरण हो। सिक्किमले लामो समयसम्म आफूलाई स्वतन्त्र बौद्ध राज्यको रूपमा परिचय दिँदै आएको थियो, तर भारतले तिनीहरूको स्वायत्तता र सांस्कृतिक अस्तित्वलाई ख्याल नगरी 1975 मा सैनिक बल प्रयोग गरेर भारतमा विलय गराइदियो। त्यसैगरी मणिपुर र त्रिपुरा जस्ता राज्यहरूमा पनि जनताको इच्छा र स्थानीय पहिचानलाई लत्याउँदै भारतको केन्द्रीय सत्ता विस्तार गरिएको हो।
त्यसको विपरीत, भारतले मुस्लिम देशहरूलाई स्वतन्त्र रहन दिन्छ, सम्मान गर्छ र कहिल्यै भारतमा समावेश गर्ने कुरा गर्दैन। पाकिस्तान, बंगलादेश, अफगानिस्तान, माल्दिभ्सजस्ता मुस्लिम बहुल राष्ट्रहरूलाई भारतले कहिल्यै आफ्नो भाग बनाउने दाबी गर्दैन। यसको अर्थ के हो भने भारतको राष्ट्र निर्माणको सोच हिन्दु र बौद्ध राज्यहरूलाई भारतमा विलीन गराउने छ, तर मुस्लिम राज्यहरूलाई स्वतन्त्रता दिने। यसले भारतको नीति एकतर्फी र धार्मिक पूर्वाग्रही भएको स्पष्ट संकेत दिन्छ।
भारतले अफगानिस्तानका तालिवानलाई विभिन्न समयमा सहायता गरेको भन्ने आरोपहरू विभिन्न अन्तर्राष्ट्रिय विश्लेषणमा पाइन्छन्। बलुचिस्तानलाई स्वतन्त्रता दिलाउने नाममा भारतले पाकिस्तानलाई अस्थिर पार्ने प्रयास गरिरहेको पनि देखिन्छ। तर त्यही भारतले पूर्वोत्तर भारतका बौद्ध चकमा जनजातिको स्वतन्त्रताको चाहनालाई कुल्चदै आएको छ। उनीहरूको आन्दोलनलाई जबर्जस्ती दबाएको छ। श्रीलंकामा पनि भारतले हिन्दु तमिलहरूको स्वतन्त्रता आन्दोलनलाई सुरुवातमा समर्थन गरे पनि पछि त्यही आन्दोलनलाई समाप्त पार्न श्रीलंकाली सरकारलाई सैन्य सहयोग गरेको थियो। यस्ता तथ्यहरूले भारतको नीति र मानसिकताको विरोधाभासलाई उजागर गर्छ।
भारतमा सत्तामा रहेका शक्तिहरू जस्तै राष्ट्रिय स्वयंसेवक संघ (RSS) र यसको अन्तर्राष्ट्रिय शाखा हिन्दू स्वयंसेवक संघ (HSS) ले आफ्नो नीति हिन्दुत्ववादी भनेर प्रचार गरे पनि व्यवहारमा तिनीहरूको प्राथमिकता हिन्दु एकता भन्दा पनि ‘भारतीय राष्ट्रवाद’को विस्तार हो। उनीहरूले हिन्दु धर्मको नाममा छिमेकी हिन्दु तथा बौद्ध देशहरूको स्वतन्त्रता स्वीकार्न सक्दैनन्। यसको ज्वलन्त उदाहरण नेपालप्रति भारतको व्यवहार हो। नेपालमा जब कुनै राष्ट्रियता, स्वाभिमान वा स्वतन्त्र नीतिको आवाज उठ्छ, भारतले त्यो आवाज दबाउन मिडिया, कूटनीति वा आर्थिक नाकाबन्दीजस्ता उपायहरू अपनाउँछ।
RSS र HSS को भूमिका हिन्दु स्वाभिमानको रक्षा गर्ने भन्दा पनि भारतको सांस्कृतिक विस्तारवादलाई प्रश्रय दिने खालको देखिन्छ। नेपाली HSS का अनुयायीहरू पनि अक्सर भारतको सत्ताधारी विचारधाराको अनुकरण गर्ने प्रयास गर्छन्, जसले गर्दा उनीहरू आफ्नो देशप्रतिको निष्ठा भन्दा बढी भारतप्रतिको समर्थन देखाउँछन्। उनीहरू भारतको नीति, चाहे त्यो नेपालमा हस्तक्षेप गर्ने होस् वा नेपालप्रति हेय दृष्टि राख्ने, त्यसलाई समर्थन गर्छन् वा मौन रहन्छन्। हिन्दु नाममा स्वयंसेवक भएको संगठनले हिन्दु राष्ट्रहरूको स्वतन्त्रता र पहिचानको संरक्षण गर्नुको सट्टा त्यसलाई भारतमा मिसाउने पक्षमा उभिनु आफैँमा विरोधाभाषी कुरा हो।
भारतको यो मानसिकता केवल राजनीतिक होइन, ऐतिहासिक र सांस्कृतिक पूर्वाग्रहको पनि परिणाम हो। भारत सधैं आफूलाई ‘विशाल भारत’ (Greater India) को कल्पनामा देख्छ जहाँ ससाना बौद्ध वा हिन्दु राष्ट्रहरूलाई भारतकै अभिन्न अंगको रूपमा चित्रण गरिन्छ। नेपाल, भुटान, श्रीलंका, बर्मा आदि देशहरूलाई कहिले सांस्कृतिक समानता, कहिले ऐतिहासिक सम्बन्ध, त कहिले धार्मिक साझा विरासतको नाममा भारतमा समाहित गर्ने कल्पना भारतको मिडिया, राजनीतिक वृत्त र शिक्षामा झल्किन्छ।
तर यस्ता सोचहरू यथार्थविरुद्ध छन्। नेपाल, भुटान, श्रीलंका, बर्मा, माल्दिभ्सजस्ता देशहरूका आफ्नै सभ्यता, संस्कृति, इतिहास, राष्ट्रियता र स्वतन्त्र अस्तित्व छ। तिनीहरू भारतको सांस्कृतिक छायाबाट माथि उठेर विश्वसामु आफ्नो अस्मिता स्थापित गरिरहेका छन्। भारतको यो सोच केवल असंवैधानिक होइन, यो छिमेकी राष्ट्रहरूप्रति अपमानजनक पनि हो।
छिमेकीको स्वतन्त्रतालाई सम्मान गर्न नसक्ने देशले अन्तर्राष्ट्रिय मञ्चमा सह-अस्तित्वको कुरा गर्नु केवल राजनीतिक नौटंकी मात्र हो। भारतलाई अब चाहिँ आत्मसमीक्षा गर्नु आवश्यक छ। उसले हिन्दु तथा बौद्ध राष्ट्रहरूको स्वतन्त्र अस्तित्वलाई स्वीकार्न, तिनीहरूको पहिचानलाई सम्मान गर्न र सहअस्तित्वमा विश्वास गर्न सिक्नुपर्छ। अन्यथा, छिमेकीहरू माँझ भारतप्रतिको अविश्वास अझै गहिरो हुँदै जानेछ।
अन्ततः, भारतीय मिडियामा देखिने छिमेकीमाथिको हेयपूर्ण टिप्पणी, भारतको सत्ताधारीहरूको दोहोरो मापदण्ड, र हिन्दु-बौद्ध राष्ट्रहरूप्रतिको हस्तक्षेपकारी सोचले भारतलाई महान बनाउँदैन बरु उसलाई आत्मकेंद्रित, असहिष्णु र विस्तारवादी राष्ट्रको रूपमा चिनाउँछ। दक्षिण एशियामा शान्ति र स्थायित्व चाहिने हो भने भारतले आफ्नो दृष्टिकोण बदल्नैपर्छ सबै छिमेकीलाई बराबरीको दृष्टिले हेर्न, तिनको सार्वभौमिकता स्वीकार्न र हस्तक्षेप होइन सहकार्यको बाटो लिनुपर्छ। यही बाटो साँचो मित्रता, सहअस्तित्व र दीर्घकालीन स्थायित्वको आधार बन्न सक्छ।





