भारतीय विदेश सचिवको उपरखुट्टी र कालो शर्टको सन्देश

# लक्की चन्द
कूटनीतिक संसारमा शब्द मात्रले होइन, शरीरको भाषा र पहिरनले पनि सन्देश दिन्छ। हालै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव मिस्रीको भेटवार्ताको क्रममा उनले लगाएको कालो शर्ट र बसेको ‘उपरखुट्टी’ शैलीले धेरैको ध्यान तान्यो। सामान्य मानिसका लागि यस्तो व्यवहार स्वाभाविक लाग्न सक्छ, तर कूटनीतिक मञ्चमा शारीरिक संकेत र पहिरनको चयनले गहिरो सन्देश दिन सक्छ।
विदेशी कूटनीतिज्ञले प्रधानमन्त्री जस्तो उच्चपदस्थ नेतासँग भेट्दा देखाउने हाउभाउले सम्बन्धको गहिराइ, सम्मानको स्तर वा शक्ति सन्तुलनसम्बन्धी धारणा प्रष्ट पार्न सक्छ। उपरखुट्टी, विशेष गरी दक्षिण एशिया र मध्यपूर्वमा, सान्दर्भिक हुन सक्छ किनभने यस भेगमा यस्तो आसनलाई कहिलेकाहीँ अवज्ञा वा अपमानको रूपमा लिइन्छ। यदि यस्तो आशन जानाजान अपनाइएको हो भने, यसले राजनीतिक असन्तोष वा प्रभुत्व देखाउन खोजिएको सङ्केत हुन सक्छ। यद्यपि, यो केवल व्यक्तिगत बानी वा सांस्कृतिक अनभिज्ञताको परिणाम पनि हुन सक्छ।
कालो रंगले पनि सन्देश दिन सक्छ। विश्वव्यापी रूपमा कालो रंग गम्भीरता, अधिकार, शक्ति, शोक वा आपत्तिको प्रतीक मानिन्छ। कूटनीतिक भेटजस्तो औपचारिक अवसरमा कालो शर्टको चयनले शालीनता दर्शाउँछ तापनि, यो सामान्यतः राजनयिक आचारसंहिताभन्दा बाहिरको छनोटजस्तो पनि देखिन सक्छ। यसले व्यक्तिको आत्मविश्वास वा अडान झल्काउँछ, तर सन्दर्भअनुसार यसले अव्यक्त सन्देश पनि दिन सक्छ।
विश्वका अन्य देशहरूमा पनि यस्ता मौन तर प्रभावशाली कूटनीतिक हाउभाउहरू चर्चाको विषय बनेका छन्। उदाहरणका लागि, सन २००८ मा इराकी पत्रकारले अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू. बुशमाथि जुत्ता प्रहार गरे, जुन अरब संस्कृतिमा चरम अपमानको संकेत हो। सन २००७ मा रुसी राष्ट्रपति पुटिनले जर्मन चान्सलर एङ्गेला मर्केलसँगको बैठकमा ठूलो कुकुर ल्याएका थिए, जबकि मर्केल कुकुरसँग डराउँछिन् भन्ने कुरा पुटिनलाई थाहा थियो, यो मनोवैज्ञानिक दबाबको संकेत मानिएको थियो। यस्तै, २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ-उनबीच सिंगापुरमा भएको शिखर वार्ताका बेला कसले हात मिलायो, कसले अघि बोल्यो, कुर्सीको व्यवस्था कस्तो थियो, यी सबैले गहिरो विश्लेषण पाएका थिए।
कूटनीतिक दुनियाँमा शब्दभन्दा अगाडि शरीर बोल्छ, रंग बोल्छ, मौनता बोल्छ। विदेशी अधिकारीको एउटा हाउभाउ वा पहिरनले सम्बन्धको स्वरूप, सम्मानको स्तर, वा दबाबको संकेत दिन सक्छ। त्यसैले यस्तो सन्देश बुझ्न सक्ने नेतृत्व र कूटनीतिक टोली हुनु कुनै पनि राष्ट्रका लागि अपरिहार्य हुन्छ।
शारीरिक मुद्रा, आँखाको सम्पर्क, पहिरन, र सानो हाउभाउ जस्ता ‘मौन भाषा’ हरू कूटनीतिक परिपक्वताको सूचक हुन्। यिनको अर्थ बुझ्न सक्नु र त्यसका आधारमा समुचित प्रतिक्रिया दिन सक्नु आजको विश्व राजनीतिमा राष्ट्रको स्वाभिमान र प्रभावको रक्षा गर्ने आधार हो।





