दैलेखको खानी उत्खननको अन्तिम प्रतिवेदन आएपछि नेपाली चीन सम्झौता हुने

प्रारम्भिक प्रतिवेदनअनुसार दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा १ सय १२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यास रहेको पत्ता लागेपछि खानी तथा भूगर्भ विभाग अन्तिम प्रतिवेदनको पर्खाइमा छ । अन्तिम प्रतिवेदन आएपछि ग्याँस उत्पादनका लागि नेपाल र चीनबीच (गर्भमेन्ट टु गर्भमेन्ट–जीटुजी) सम्झौता हुने विभागले जनाएको छ ।
चीनको जियोलोजिकल सर्भेले १ सय १२ अर्ब घनमिटर ग्यास रहेको प्रारम्भिक प्रतिवेदन पठाएपछि अहिले जलजले क्षेत्रमा चहलपहल बढिरहेको छ । चीन सरकारको अनुदानमा २ अर्ब ४० करोड रुपैयाँमा ६ वर्ष लगाएर अन्वेषण गरिएको हो ।
चिनियाँ पक्षले डिसेम्बरसम्म अन्तिम प्रतिवेदन पठाउने जानकारी दिएको खानी तथा भूगर्भ विभागका महानिर्देशक दिनेशकुमार नापितले बताउनुभयो। उहाँका अनुसार प्रारम्भिक प्रतिवेदनअनुसार नेपाललाई ५० देखि ६० वर्ष पुग्ने प्राकृतिक ग्यास भेटिएको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार जलजलेमा झण्डै करिब ८५ अर्ब अमेरिकी डलरको प्राकृतिक ग्यास रहेको अनुमान गरिएको छ । प्राकृतिक ग्यास अन्वेषणका लागि चीनको सिएनपिसी सिबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख २८ देखि झण्डै डेढ वर्ष ४ हजार १३ मिटर गहिराईसम्म ड्रिलिङ गरेको कान्तिपुर अनलाइनले लेखेको छ।
अहिले जलजले आसपासका क्षेत्रमा जग्गाको कारोवार बढेको छ भने विभिन्न पूर्वाधार निर्माणका कामहरु जारी छन् । स्थानीय अगुवा धनबहादुर बुढाका अनुसार पेट्रोलियम अन्वेषणको रिपोर्ट सकारात्मक आएपछि जग्गाको मूल्य अहिले ३ गुणा बढेको छ।
हाल अहिले प्रतिरोपनी ५ लाख रहेको जग्गाको मूल्य १५ लाख रुपैयाँ पुगेको छ । ‘अहिले त जलजले आसपास जग्गा पाउनै मुस्किल भयो,’ उहाँले भन्नुभयो, ‘दैनिकजसो ५/७ वटा जग्गा पास हुन थालेका छन्, आर्थिक कारोबार बढिरहेको छ, होटल र पसल गर्नेहरु पनि बढिरहेका छन् ।’
अहिले जलजले क्षेत्रमा झण्डै एक सय वटा पसल र होटलहरु छन् । भेरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाहीले मध्यपहाडी राजमार्ग छेउमै भएकाले त्यहाँबाट आसपासका गाउँहरुमा जोड्न ३ वटा सडक निर्माणको काम भइरहेको बताउनुभयो। उहाँका अनुसार जलजले आसपासका क्षेत्रमा विभिन्न पूर्वाधार निर्माणका लागि यो वर्ष झण्डै दुई करोड रुपैयाँ विनियोजन भएको छ ।
पेट्रोलियम पदार्थको उत्खननका लागि २०७२ चैतमा चीन र नेपालका प्रधानमन्त्रीबीच द्विपक्षीय समझदारी भएको थियो । त्यस आधारमा २०७६ असोजबाट झण्डै ६ महिना खानी विभाग र चिनियाँ प्राविधिकको टोलीले प्रारम्भिक अध्ययन गरेको थियो भने २०७६ फागुनमा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओजिकल सर्भे कम्पनीबीच अन्वेषण तथा उत्खननका लागि सम्झौता भएको थियो । ड्रिलिङका लागि जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।
जसमा झण्डै ७० जना प्राविधिकले र झण्डै एक सय जना स्थानीय मजदुरले १९ महिना काम गरेका थिए । दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जलजलेमा अहिले ३ जना चिनियाँसहित सशस्त्र प्रहरीले ड्रिलिङ गरिएका क्षेत्रको सुरक्षा दिइएको बताउनुभयो । थप सुरक्षाको लागि नेपाल प्रहरीको चौकी पनि स्थापना गरिएको छ।
CGTN





