जेन जेड आन्दोलनको पर्दा पछाडिको दिपक भट्ट योजना

# लक्की चन्द
देश परिवर्तनको मोडमा छ, जुनसुकै कोणबाट हेरिए पनि, नेपालमा हाल भइरहेका राजनीतिक र सामाजिक घटनाहरू साधारण विरोध वा असन्तोष मात्र होइनन्; ती प्रष्ट रूपमा संगठित षड्यन्त्र, शक्ति-आकांक्षा, र छद्म राष्ट्रवादको गन्ध बोकेका छन्। जेन-जेड पुस्ताको नाममा उठाइएको आक्रोश स्वाभाविक रूपमा सहानुभूतिपूर्ण लाग्छ, तर त्यस भित्र लुकेको रणनीति र प्रयोगशालामा निर्माण गरिएको विद्रोहले हाम्रो राष्ट्रिय अस्तित्वमै प्रश्न खडा गर्न थालेको छ।
भ्रष्टाचारको विरुद्धमा आवाज उठाउनु अब नयाँ विषय होइन। यद्यपि, अहिलेको वातावरणमा भ्रष्टाचारको विरुद्धको यो आन्दोलनलाई योजनाबद्ध ढंगले सरकारको संरचनात्मक अंगहरूमाथि आक्रमण गर्ने अस्त्रका रूपमा प्रयोग गरिँदैछ। विशेष गरी ती व्यक्तिहरूविरुद्ध जो तिनै भ्रष्ट सञ्चालकहरूको कालाे योजनालाई अवरोध गरिरहेका छन्। मुख्यसचिव एकनारायण अर्याल र प्रहरी एआइजी दानबहादुर कार्की अहिले यसै षड्यन्त्रको केन्द्रमा परेका छन्।
यो षड्यन्त्रमा प्रमुख भूमिका निर्वाह गरिरहेको पात्र हो, दिपक भट्ट। दशकमै अघि देखिको यो नाम सधैं पर्दाभित्र बसेर सेनादेखि प्रहरी र उच्च राजनीतिक तहसम्मको आर्थिक खेलहरूमा मध्यस्थकर्ता बन्दै आएको हो। बिचौलियाहरूको राज्य सञ्चालनमा छायाँ सरकारझैँ प्रभाव जमाउँदै आएको तथ्य अब गोप्य रहेन। भट्टले मुलुकको सुरक्षातन्त्र, न्याय प्रणाली र प्रशासनिक ढाँचामा घुसेर ती संस्थालाई ‘भित्रैबाट कमजोर’ बनाउने दीर्घकालीन योजना बोकेको तथ्य एकपछि अर्को गरेर सतहमा आउँदै छन्।
भदौ २४ को घटनापछि देखिएको अराजकता कुनै आकस्मिक प्रतिक्रिया थिएन, यो सोच विचार सहितको ‘टेस्ट रन’ थियो कि राज्यका महत्वपूर्ण संस्था कति कमजोर छन्, र त्यो कमजोरीलाई कसरी भित्रैबाट प्रयोग गर्न सकिन्छ। जबकि रवि लामिछानेलाई कारागारबाट निकाल्नका लागि गरिएको फोन सम्पर्क सामान्य प्रशासनिक प्रक्रिया थियो, त्यसलाई षड्यन्त्रको कथा बनाएर मुख्यसचिव अर्याल र एआइजी कार्कीमाथि चरित्र हत्या गर्ने प्रयास भयो। प्रश्न उठ्छ किन?
किनकि अर्याल र कार्कीजस्ता अधिकारीहरू नै तिनका लागि असहज पात्र हुन्। अर्याल प्रशासनिक सुधार र पारदर्शिताका पक्षधर छन्, जसले भट्टजस्ता छायाँ खेलाडीहरूलाई असहज बनाउँछ। अर्कोतिर, कार्की सुरक्षातन्त्र भित्र भ्रष्टाचारको विरुद्ध कडा रवैयाका लागि परिचित छन्, जसले प्रहरीलाई ‘बजार’ बनाइरहेका एजेन्टहरूको रातको निन्द्रा हराएको छ।
खासगरी ‘नयाँ आन्दोलन’को नाममा उच्च पदस्थ न्यायाधीश, अख्तियार प्रमुख, सुरक्षा अधिकारीहरूलाई लक्षित गरेर गरिएको चरित्र हत्या अभियान देशकै हितविरुद्धको ठूलो खेल हो। यस्तो चालमा राष्ट्रप्रेमी नेपालीहरू चुप लागेर बस्नु भनेको आफ्नो देश, आफ्नो संस्थाहरू, र आफ्नो भविष्यलाई विदेशी/आन्तरिक एजेन्टको हातमा सुम्पिनु जत्तिकै हो।
आज गम्भीरतासाथ सोच्नुपर्ने बेला आएको छ, के जेन-जेडको आन्दोलन साँच्चै स्वतन्त्र आवाज हो त? कि यो दिपक भट्टजस्ता बिचौलियाहरूको नयाँ मोहरा मात्रै हो, जसले जनतालाई ढाल बनाएर आफ्नो व्यापारिक स्वार्थ सिद्ध गर्दैछन्?
देशभक्तिका नाममा नारा लाग्ने धेरै छन्, तर जब संस्थाहरूलाई ध्वस्त पार्ने षड्यन्त्र चल्छ, तब ती संस्थामा बसेका इमानदार अधिकारीहरूलाई संरक्षण गर्नु नै सच्चा देशभक्ति हुन्छ।
अर्याल र कार्कीमाथि आज प्रश्न उठाइँदैछ, भोलि यस्तो आरोप तपाईंमाथि वा तपाईंका सन्तानमाथि नलाग्ला भन्न सकिन्न। लोकतन्त्रलाई चलायमान बनाउने मुख्य आधार भनेको निष्पक्ष र निर्भीक प्रशासन हो। त्यसैले राष्ट्रका लागि अडिने, नझुक्ने, र बिचौलियाको कुटिल जालो च्यात्ने हिम्मत भएका पात्रहरूलाई देशले संरक्षण गर्नैपर्छ।
आजको राष्ट्रवाद भनेको नाराजुलुस होइन, यो प्रणालीभित्र इमानदार पात्रहरूको साथमा उभिनु हो। त्यो साथ, आज अर्याल र कार्कीलाई चाहिएको छ।





